राजनीति

सुशासन र सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले नागरिकको अपेक्षा अनुसार सुशासन र शान्ति सुरक्षा कायम गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेलाई आवश्यक निर्देशन दिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुग्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन जानुभएको हो ।

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्न चितवन जानुभएको हो । हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् ।

प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । दाहाल भरतपुर महानगरपालिका वडा नं १४ निवासी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.