खेलफूटबल

धनगढीलाई पराजित गर्दै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि 

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

धनगढीलाई पराजित गर्दै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि 

त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको धनगढीले रु २० लाख पायो ।

ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे । यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे ।

खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो । खेलको ७९ औं मिनेटमा धनगढी १० खेलाडीमा सिमित भयो । धनगढीका रिर्चड ओसेइ आग्यमनले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

त्यस्तै वीरगञ्ज युनाइटेडले फेयर प्लेको उपाधि जितेको छ भने उदीयमान खेलाडीको उपाधि धनगढीका रोहन कार्कीले पाउँदा ललितपुरका जेफ्री विली मार्सल बाल्टुस सर्वोत्कृष्ट गोलकिपर घोषित भएका छन् । यी दुवैले जनही एक लाख रुपैयाँ पाए ।

यस्तै प्रतियोगितामा ६ गोल गरेका ललितपुर सिटी एफसीका इमोह इजेकेल सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसँगै एक लाख रुपैयाँ पाए भने ललितपुरका कप्तान अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बलसँगै २ लाख रुपैयाँ पाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.