जन सरोकार

यस वर्षदेखि आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक- चैतसम्म वितरण भइसक्ने

हरेक शक्षिकसत्रको सुरुवातअघि समयमै देशभर पाठ्यपुस्तक पुर्याइने बाचा हुने गरे पनि दोस्रो त्रैमासीक परीक्षाको बेलासम्म पनि कतिपय स्थानमा पुस्तक नपुग्ने गरेको विगतको समस्या विस्तारै कम हुँदै गएको छ । यसका अनेक कारणमध्ये सम्बन्धित निकायबीचको समन्वय अभाव र आन्दोलनन रहने गरेको छ ।

पाठ्यपुस्तक छपाईको जिम्मेवारी बोकेका जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र वितरण गर्ने साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा अनियमितता र कर्मचारीको आन्दोलनले काममा नकारात्मक असर पारेको हुन्थ्यो । राजनीतिक स्थिरता र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको व्यवस्थापन सुधारसँगै आगामी शैक्षिक सत्रका लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण भइसक्ने भएको छ ।

पाठ्यपुस्तक छपाइको प्रगति अवस्था बुझ्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको मन्त्रालयको टोलीलाई केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध हुने विश्वास दिलाएको हो । सोही लक्ष्यका साथ आवश्यक मेशिन र कागजको प्रबन्ध गरी काम भइरहेको केन्द्रको व्यवस्थापन पक्षले अवगत गराएको छ ।

केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८०० थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिएकामा हालसम्म शतप्रतिशत छपाइ गरेको छ । कक्षा ५ देखि १० सम्मका दुई करोड ७२ लाख तीन हजार ४१४ थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा हालसम्म ९७ लाख थान उत्पादन भई ४६ दशमलव प्रगति भएको छ ।

सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रङ्गीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम ‘उड फ्रि’ कागजमा रङ्गीन पाठ्यपुस्तक छपाइ भइरहेको छ ।

केन्द्रले हाल दुई सत्रमा मेशिन सञ्चालन गरी कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक दैनिक एक लाख थानभन्दा बढी सङ्ख्यामा छपाइ गरिरहेको केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले ती कक्षाका पाठ्यपुस्तकको ‘सिआरपी’ पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र बिक्री वितरणका लागि पठाइसक्ने गरी कार्य गरिरहेको बताउनुभयो ।

कूल रु ५० करोड अधिकृत पूँजी रहेको सो केन्द्रमा विगतमा रु दुई खर्ब संचित नोक्सानी रहेकामा गत वर्ष निर्वाचन आयोगका काम गरेपछि त्यसबापत रु साढे एघार करोड नाफा भई केही राहत मिलेको प्रबन्ध सञ्चालक तिमिल्सनाले जनाउनुभयो । गत वर्ष केन्द्रलाई चालू पूँजीका लागि अर्थ मन्त्रालयले रु ५० करोड सहुलियत ऋण दिएकामा रु १० करोड फिर्ता गरिसकेको छ । केन्द्रले सरकार र बैंकहरुलाई तिनुपर्ने अझै रु एक अर्ब ३४ करोड ऋण छ भने यसको वार्षिक ब्याज रु १४ करोड हुन्छ ।

केन्द्रले बाँकेको खजुरामा प्रेस स्थापना गरी सञ्चालनमा ल्याएको छ भने पाठ्यपुस्तकका अतिरिक्त उत्तरपुस्तिका, अभ्यास पुस्तिका, प्रश्नपत्र, इ–विल्डिग, सवारी दर्ता प्रमाणपत्रलगायत विभिन्न संवदेनशील सामग्री छपाइ गरी आफूलाई आत्मनिर्भर बनाउन थालेको छ । “हामीसँग चौबिसैं घण्टा चल्न सक्ने मेशिन छ, पाठ्यपुस्तकबाहेकका कामसमेत ल्याइ त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गरेमा संस्था आत्मनिर्भर बन्नेछ”, तिमल्सिनाले भन्नुभयो ।

प्रवक्ता चित्र आचार्यका अनुसार पाठ्यपुस्तक भण्डारण गर्न थप नौ गोदाम बनाइएको र रु १५ करोडको अत्याधूनिक चार रङ्गको ३२ पेज छपाइ गर्ने दुई वेभ मेशिन र एक चार रङ्गको छपाइ गर्ने जापानी मेशिन खरिद गरेको छ । उक्त मेशिनले दु्रत गतिमा छपाइ गरिरहेको जनाइएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक यसअघि नै रङ्गीन छापिन थालेका थिए ।

आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक पर्ने पाठयपुस्तकमध्ये कक्षा २ देखि ५ सम्म र कक्षा ९ र १० का पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणका लागि केन्द्रका नौ कार्यालयका गोदाममा भण्डारण गरिएको छ । नेपाल सरकारको राष्ट्रिय नीतिअनुरुप विगत ६५ वर्षदेखि केन्द्रले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.