सरकारले स्पेनसंग माग्यो नेपाली युवालाई रोजगारी
आकर्षक वैदेशिक रोजगारीका गन्तव्यको अभावमा सस्तो श्रमिकका रुपमा खाडी मुलुकमा जान बाध्य नेपाली युवाहरुलाई रोजगारी दिन युरोपेली मुलुक स्पेन सकारात्मक रहेको बताइएको छ । बिहिबार सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न गरेको आग्रहमा स्पेन सकारात्मक रहको बताइएको हो ।
स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले बिहिबार आफूसँग गरेको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कामदार आदानप्रदानमा सहकार्य गर्न चाहेको बताउनुभयो ।
नेपाल र स्पेनमा धेरै विषयमा समानता रहेको टिप्पणी गर्दै उहाँले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व वृद्धिका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा स्पेनी मन्त्री रेन्डोन्डाले नेपाली युवालाई रोजगारीको अवसर दिन आफूहरु अत्यन्त सकारात्मक रहेको बताउनुभयो । स्पेनलाई नेपाली युवाको आकर्षक गन्तव्य बनाउन सकिए दुवै देशको सम्बन्ध अझ प्रगाढ हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्