लोकप्रिय गायक निशान भट्टराईको निधन
लोकप्रिय गायक निशान भट्टराईको सोमबार राति कार दुर्घटनामा निधन भएको छ । दरवारमार्गको एक रेष्टुरेन्टमा गीत गाउँदैआएका भट्टराई सो स्थानबाट आफ्नो निवास फर्कने क्रममा तीनकुनेमा कार दुर्घटनामा परी निधन भएको हो ।
दुर्घटनामा घाइते भएका गायक भट्टराइलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको र चिकित्सकले उहाँलाई मृत घोषित गरेको संगीतकार मिलन मोत्तानले आफ्नो फेसबुमा लेख्नुभएको छ ।
यसैबीच पत्रकार तथा गीतकार रमण घिमिरेले गायक भटुटराईको निधनपछि आफ्नो पुरानो दिनको याद गर्दै हार्दिक श्रद्धान्जली निशान, तिम्रो आत्माले शान्ति पाओस् भन्दै फेसबुकमा लेख्नुभएको छ-
“मेरो अनन्य साथी थियो निशान । उसका र मेरा संघर्षका दिनहरू सँगसँगै सुरु भएका हुन् । ऊ दरबारमार्गको एउटा होटलमा गाउँथ्यो, म लगनटोलबाट प्रकाशित हुने साप्तहिक मन्चमा पत्रकारिता गर्थेँ- चालीसको दशकको कुरा हो ।
त्यहाँदेखि यहाँसम्म हाम्रो मित्रतामा कहिल्यै कुनै आरोह-अवरोह आएन, सधैँ एकनास हामी एक-अर्कालाई मित्रताको अनुभूति बाँडिरह्यौँ ।
हो, लामो अन्तरालमा कहिलेकाहीँ छोटो भेट हुन्थ्यो तर भेट हुँदा हामी फेरि अर्को भेटसम्मलाई पुग्ने गरी खुसी बाँड्थ्यौँ ।
पछिल्लो समय हामीले खुसी बाँडेको धेरै भइसकेको थियो । अचानक तिमी बिनाकुनै सूचना गइहालेछौ । मन चर्कियो, मुटु दुख्यो । फेरि साढे तीन दशकअघि तिमीलाई पहिलोपल्ट भेट्दाको क्षण सम्झिएँ । आँखाहरू बरर बर्सिए ।”
प्रतिक्रिया राख्नुहोस्