खेल

एभरेष्ट प्रिमियर लिगमा क्रिस गेलको आगमन- पोखरा राइनोजले गर्यो अनुबन्ध

विश्व क्रिकेटमा अनगिन्ती कीर्तिमान बनाउनुभएका वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल नेपालमा खेल्ने पक्का भएको छ । आगामी दिनमा आयोजना हुने एभरेष्ट प्रिमियर लिगमा उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ ।

यद्यपि आयोजकले भने गेललाई कति रुपैयाँमा अनुबन्धन गरेको खुलाएको छैन् । पत्रकार सम्मेलनमा क्रिस गेलले नेपाल बस्ने क्रममा पोखरा राइनोजका लागि दुई टी ट्वान्टी खेल्नुहुने जानकारी दिइएको छ । प्रिमियर लिगको चौथो संस्करण मार्च १४ देखि २८ सम्म काठमाडौंमा खेलाइनेछ ।

पोखरा राइनोजले काठमाडौंमा बिहिबार एक पत्रकार सम्मेलन क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । नेपालमा प्रिमियर लिग खेल्न आउन क्रिस गेललाई छ महिना अघि नै प्रस्ताव गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरा राइनोजले गेललाई चित्त बुझाउन छ महिना लागेको बताएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका ४० वर्षे गेल गगनचुम्बी छक्का प्रहार गर्ने कलाले उहाँलाई टी ट्वान्टीका ‘किंग’ पनि भनिन्छ ।

अनुबन्धनपछि नेपाली क्रिकेट प्रशंसकलाई एक सन्देशमा गेलले ठट्टासँगै टी ट्वान्टीको ‘किंग’ रहेको आफू नेपाल भ्रमण गर्न आउन लागेको र आफ्नो टोली पोखरा राइनोजलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । गेलले नेपाललाई आफ्नो खेल हेर्न तयार भएर बस्न भन्नुभएको छ । सन्देशको अन्त्यमा क्रिस गेलले भन्नुभएको छ, “छिट्टै नेपालमा भेटनेछौं, स्नेह र सम्मान ।”

गेलले भने पछिल्ला वर्षहरुमा घरेलु लिगमा टी ट्वान्टी खेललाई विशेष प्राथमिकता दिनुभएको छ । पछिल्लोपटक उहाँ १५ दिन अगाडि चत्तोग्राम च्यालेन्जर्सको प्रतिनिधित्व गरी बङ्गलादेश प्रिमियर लिग खेल्नुभएको थियो । ओपनिङ्ग गर्दा उहाँले छ चौका र पाँच छक्काको सहयोगमा ६० रनको योगदान दिनुभयो ।

क्रिस गेललाई वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै १०३ टेष्ट म्याचमा १५ शतक र ३७ अद्र्धशतक लगाएर सात हजार २१४ रन बनाउनुभएको छ । ५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका गेलले १४२ को स्ट्राइक रेटमा दुई शतक र १३ अद्र्धशतकसँगै एकहजार ६२७ रन बनाउनुभएको छ । ३०१ अन्तर्राष्ट्रिय एकदिवसीयमा दश हजार ४८० रन बनाउनुभएको छ ।

टी ट्वान्टी लिगमा उहाँले दुई दर्जन बढी घरेलु लिगमा विभिन्न टोलीको प्रतिनिधित्व गर्नुभएको छ । भारतमा हुने घरेलु इन्डियन प्रिमियर लिगमा उहाँ किंग्स एलेभन पञ्जाब, कलकत्ता नाइट राइर्डस्, रोयल च्यालेन्जर्स बैंग्लौर लगायतका टोलीको प्रतिनिधित्व गर्नुभएको छ । विष्फोटक ब्याटिङ्गसँगै अफस्पिन बलिङ्ग गर्ने खुबी बोक्नुभएका गेलले टेष्ट खेलमा ७३ विकेट लिनुभएको छ । एकदिवसीय खेलमा १६७ तथा टी ट्वान्टी अन्तर्राष्ट्रियमा उहाँको नाममा १७ विकेट रहेको छ । उहाँले सेप्टेम्बर ११, १९९९ मा भारत विरुद्ध टोरन्टोबाट अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्नुभएको हो ।

एभरेष्ट प्रिमियम लिगका लागि लसँगै विश्वका चर्चित क्रिकेटरहरुको नेपाल आगमन हुनेछ । प्रिमियर लिगको चौथो संस्करणका लागि हालसम्म चारजना विश्वका चर्चित क्रिकेटरसँग घरेलु टोलीले सम्झौता गरिसकेको छ । यसअघि दक्षिण अफ्रिकी ओपनर ब्याट्सम्यान हासिम अमलाले पनि प्रिमियर लिग खेल्न आउने बताइएको थियो । उहाँले खेल्न सहमत भए पनि टोलीको टुंगो लागिसकेको छैन् । हासिम अमला विश्व क्रिकेटका चर्चित अनुहार हुन ।

श्रीलङ्काका उपुल थरङ्गाले गत् साता मात्रै ललितपुर पेट्रिओट्ससँग सम्झौता गर्नुभएको छ । थरङ्गा श्रीलङ्काली क्रिकेट टोलीका उत्कृष्ट युवा ब्याट्सम्यान हुनुहुन्छ । थरङ्गाले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा श्रीलङ्का टोलीको नेतृत्व समेत गर्नुभएको छ ।

वेष्टइन्डिजकै अर्का अलराउण्डर ड्वायन स्मिथले समेत भैरहवा ग्लेडिएटर्सको प्रतिनिधित्व गर्नुहुने सुनिश्चित भइसकेको छ । स्मिथसँग भैरहवाले यसै साता सम्झौता गरेको छ । अफगानिस्तानका विकेटकीपर ब्याट्सम्यान मोहम्मद शहजादले पनि प्रिमियर लिग खेल्न नेपाल आउने सहमति गर्नुभएको छ । उहाँलाई चितवन टाइगर्सले भित्र्याएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.