अर्थ

न सरकारी पहल न उद्योगीले चासो दिए- उखु किसानले भाखा नाघेको १० दिन बितिसक्दा पनि भुक्तानी पाएनन् : पुनः आन्दोलनको तयारी

आफ्नो पसिनाको कमाई लिन आन्दोलन गर्नुपर्ने देश हो यो । नदगेबाली उखु उत्पादक किसानहरुको हकमा यस्तै भैरहेको छ र आन्दोलन गरेर सरकारसंगै सम्झौता गरे पनि समयमै भुक्तानी नपाउने देश पनि यही हो ।

गत पुसमा झरीमा रुझ्दै सर्लाहीको किसानहरुले चिनी उद्योगले उखुको भुक्तानी नदिएपछि काठमाडौंमा आएर आन्दोलन गरे र सरकारले माघ ७ गतेभित्र भुक्तानी दिलाउने सहमति गरेपछि उनीहरु घर फर्किए तर माघ १७ गते बितिसक्दा पनि भुक्तानी भने पाएनन् ।

सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए ।

त्यसपछि सरकारले पुस १८ गते पाँचबुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पुरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएको थियो । उद्योगमन्त्री लेखराज भट्ट आफैँले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काउनुभएको थियो । सरकारले दिएको मितिमा भुक्तानी पाउने आशामा उखु किसान घर फर्किएका थिए तर मध्य माघ भइसक्दासमेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन् ।

आन्दोलन गर्न काठमाडौँ गएका केही किसानको खातामा उद्योगीले पैसा हालिदिए पनि अन्य किसानले पैसा पाउन सकेका छैनन् । किसानको आन्दोलनपछि अन्नपूर्णले ४२ करोड बक्यौतामध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मीले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपियाँ मात्रै भुक्तानी गरेको छ । अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानी गर्न बाँकी छ ।

चिनी उद्योगीसँगै सरकारले समेत किसानलाई गत वर्षकै अनुदान रकम दिएको छैन । उद्योगी र सरकार दुवैबाट पाउन बाँकी रकम उपलब्ध गराउन काठमाडौँ गएर फेरि एकपटक सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । नगदेबाली उखु बेचेको पैसा लिन यसरी पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यताले उखु किसानमा नैराश्य बढ्दै गएको छ ।

जिल्लाको उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योगले गत वर्षको भुक्तानी गरिसकेकाले त्यस भेगका किसानलाई खासै समस्या छैन तर दक्षिणी भेगका किसानलाई अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले भुक्तानी नदिँदा व्यवहार धान्नै मुस्किल परिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.