नेपाल टेलिभिजनको इटहरी च्यानल सुरु : जनतामा निराशा नफैलाउन प्रधानमन्त्रीको सुझाव
नेपाल टेलिभिजनले इटहरीबाट प्रसारण सुरु गरेको छ । स्थापनाको ३५ वर्ष पुगेको नेपाल टेलिभिजनको इटहरी च्यानल शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने भएकाले सञ्चार माध्यमले निराशा फैलाउने र अरुलाई हानी पुर्याउने काम गर्न नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो ‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ’ उनले भने ‘अरुलाई दुख दिएर, मानहानी गरेर, तेजोबध गरेर, अरुको वैयक्तिक, पारिवारिक, सामाजिक हैसियतमा क्षति पुर्याएर देश समृद्ध हुने होइन ।’
प्रधानमन्त्री ओलीले देश सुशासनको बाटोमा रहेका बेला जनतालाई निराश बनाउन नहुने धारणा राख्दै जनतामा नराम्रो कुरा मात्र पस्किने, निराशातिर जनतालाई धकेल्ने होइन, आशावादिता जगाउने, आत्मविश्वास जगाउने काम गर्न जरुरी रहेको बताउँदै संचारमाध्यमले सही सूचना जनतामा नपुर्याएको गुनासो समेत गर्नुभयो ।
उहाँले भन्नुभयो सरकारले विगत दुई वर्षमा धेरै महत्वपूर्ण काम गरेको छ तर यो कुरा जनतामा सुसूचित गर्ने जिम्मेवारी सञ्चार क्षेत्रकै भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।
आग्रह, पूर्वाग्रह र दूराग्रहबाट मुक्त भएर उत्तरदायी भूमिका निर्वाह गरेर नेपाली प्रेसले जनताप्रतिको आफ्नो जिम्मेवारी सही ढंगले पूरा गरेको ठहर्छ भन्दै उहाँले नकारात्मकता र पूर्वाग्रहमुक्त स्वतन्त्र र तटस्थ समाचार मार्फत सञ्चार माध्यमले यो भूमिका निर्वाह गर्न सक्छ भन्नुभयो ।
२०४२ साल पौष १४ गतेदेखि नियमित प्रसारण सुरु गरेको नेपाल टेलिभिजनले पहिलो दिनमै समाचार प्रसारण गरेको थियो । एउटा रेकर्डेड बुलेटिनबाट सुरु भएको नेपाल टेलिभिजनको समाचार यात्रा हाल बेग्लै च्यानलको रुपमा बिस्तार भैसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्