विश्व समाचार

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ५०० पुग्यो- हङकङमा १८ सङ्क्रमित

चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट त्यहाँ ५ सयजनाको मृत्यु भएको छ भने हङकङमा १८ जनामा सङ्क्रमण भएको जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका छन् ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।

यसैबीच चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । थाइ विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोनवार्ताका क्रममा सो विश्वास व्यक्त गर्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री यीसँगको फोनवार्ताका क्रममा बुधबार बिहान थाइ विदेशमन्त्री डोनले यस्तो संकटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिनुभएको थियो । त्यस क्रममा उहाँले चीनलाई यस्तो अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाइ सरकार तत्पर रहेको पनि बताउनुभएको थियो ।

चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले मङ्गलबार बताएको थियो ।

सो फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले थाइल्याण्ड सरकारलाई विशेष धन्यवाद दिनुभएको थियो । थाइ विदेशमन्त्री डोनले चीन र थाइल्याण्ड एकै परिवारका नागरिकजस्तो रहेका र कुनै पनि देशमा अप्ठेरोको समयमा यी दुवै देशलाई उत्तिकै समस्या पर्ने धारणा राखेपछि चिनियाँ विदेशमन्त्री वाङले थाइ सरकारलाई विशेष रुपमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

चीनको मध्यक्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.