"सेना प्रतिक्रियात्मक क्षमतासहित सदैब तयार रहनुपर्ने"
प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधि हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना प्रतिक्रियात्मक क्षमतासहित तयार रहनुपर्ने बताउनुभएको छ । बुधबार ‘पृतनापति समन्वयात्मक बैठक’को समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली सेनाको जङ्गी अड्डामा यही फागुन ४ गते शुरु भएको बैठक समापन गर्दै थापाले राष्ट्रिय सुरक्षा सबल बनाउनु सेनाको संवैधानिक जिम्मेवारी भएकोले सो कार्यको लागि सदैव तयारी हालतमा रहनुपर्ने समेत निर्देशन समेत दिनुभयो ।
प्रधानसेनापति थापाले सङ्गठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउन कमाण्ड प्रतिबद्धता, नेतृत्व संवाद, त्रैमासिक रोलकल, सिपाहीका साथ प्रधानसेनापतिलगायत संयन्त्रहरु प्रयोगमा ल्याइएको बताउनुभयो । साथै उहाँले नीति नियम परिमार्जन गर्ने र आवश्यक नयाँ नीति नियम तयार गर्ने कार्य निरन्तर भइरहेको बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्तव्यकै क्रममा उहाँले सेनासँगको स्रोत र एकीकृत क्षमताको पक्षलाई सङ्गठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनुपर्ने बताउनुभएको निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति थापाले ‘महाशिवरात्रि तथा सेना दिवस २०७६’को उपलक्ष्यमा बधाइ दिनुहुँदै आगामी दिनमा समेत उच्च हौसलाका साथ सबै तहका कमाण्डरले मातहतलाई समेत अभिप्रेरित गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो ।
बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यसमीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्नसक्ने सुरक्षा चुनौती एवं सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए । साथै सेनाका विविध कार्यहरुको प्रगती समीक्षा, मूल्याङ्कन र विश्लेषणसमेत भएको उक्त बैठकमा ‘पिएसओज’ रथीबृन्द, पृतनापति तथा अन्य रथीबृन्दसमेतको सहभागिता रहेको निर्देशनालयले जनाएको छ ।
नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तक्र्रियाको माध्यमबाट आउने रचनात्मक सुझावले सेनाको नीति तथा योजना निर्माणमा ठोस् योगदान पु¥याउन थप सहयोग पुगेको विश्वास सेनाले लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्