सांसदहरुले 'चार अर्ब खान लागे' भनेपछि मिश्रलाई कारबाही गर्न पत्राचार
सेक्युरिटी प्रेस खरीदमा कमिशनको मोलतोल गरेको अडियो सार्वजनिक गरी १२ अर्ब रुपैयाँ बढी खर्च गरेर जर्मन कम्पनीलाई टेण्डर दिन लागेको र सांसदहरुले ‘चार अर्ब खान’ खोजेको भन्दै एक अनलाइनमा अन्तरवार्ता दिने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रहरीलाई पत्राचार गरेको छ । मिश्र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट समेत हुन् ।
सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँगको अडिओ बाहिर नल्याएको भए लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुन लागेको बताएका थिए । उनले भनेका थिए ‘आज हामीले यो अडिओ बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेहरूले पनि कमिसन खाने गरी सेटिङ गरिसकेका थिए । त्यसकारण हामीले उक्त अडिओ बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौं’।
समितिले यसअघि मिश्रलाई विज्ञका रुपमा पटकपटक बैठकमा बोलाएको थियो । ययसपटक कमिशनको कुरा बाहिर आएको र अर्कै कम्पनीलाई टेण्डर दिन लागेको भन्दै लेखा समितिका सांसदको चरित्र हत्या गर्ने गरी टीकाटिप्पणी गरेकोमा समितिले कारबाही गर्न पत्राचार गरेको हो ।
सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरे पनि अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको थियो । तर मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका थिए।
त्यस्तै, लेखा समितिले फेसबुकमा सांसदहरूको फोटोसहित ४ अर्ब खान लागेको टिप्पणी गरेका प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको छ । “४ अर्ब खाएर जर्मन कम्पनीलाई दिने सांसदहरू” उल्लेख गर्दै सांसदहरूको फोटो पोस्ट गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्