बुधबार हुने भयो प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपण हुनेभएको छ । यसअघि भारतमा प्रत्यारोपण गरिए पनि यसपटक त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुनेछ ।
आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुने सम्भावना रहेको छ ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिंदै भन्नुभयो ‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनुभयो, सोमबार नै प्रधानमन्त्री उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ ।’
उता अस्पतालका चिकित्सकहरूले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि ९९ प्रतिशत तयारी पूरा भइसकेको बताएका छन् । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । केही समयअघि उहाँको मिर्गौलाले काम गर्न छोडेको थियो । त्यसपछि उहाँले नियमित डायलासिस गरिरहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्