समाजवादी राज्यमा व्यवस्थामा सामन्ती प्रथाको अवशेष : सिंगो गाउँ साहुको ऋणमा
मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको भए पनि साहुकारीप्रथाको अन्त्य हुन नसक्दा दलित र पिछडिएको समुदायको गाउँ नै साहुको ऋणमा डुब्ने गरेको छ । यस्तै अवस्था जाजरकोटको एउटा गाउँको छ, जहाँ बाबु बाजेका पालादेखिको ऋणले गर्दा गाउँ नै छाड्न बाध्य भएका छन् ।
जनताको जीवनस्तर उकास्न सरकारले चाहेका कदमहरु दुर्गम क्षेत्रसम्म पुगेकै छैन । तीन तहको सरकार देशमा स्थापित भएको र सिंहदरबार गाउँगाउँमा पुगेको भनिए पनि अहिले गाउँगाउँमा भ्रष्टाचार मात्र बढेको छ । विकासको नाममा पूँजीवालाहरु मोटाइरहेका छन् । सडक खन्ने भन्दै डोजर किनेर गाउँघर पहिरोको शिकार बनाइएको छ, विकासको बजेट डोजर मालिकले लगेका छन् । गरीब जनताको रोजगारी डोजले खोसेको छ ।
हुन त सरकारले निश्चित रकमसम्मको विकास आयोजनामा डोजरलगायतका मेसिन प्रयोग गर्न नपाउने बताएको छ तर त्यसको कार्यान्वयन छैन । जनप्रतिनिधि नै डोजरमालिक बनेका छन् । यस्तोमा ऋण काढेर घर चलाएका दुर्गम गाउँका बासिन्दाहरुको उठिबास लागेको दारुण समाचार सार्वजनिक भएको छ ।
गोरखापत्र दैनिकको समाचार अनुसार बाजेको पालादेखि साहुको ऋण बोक्दै आउनुभएका जाजरकोट भेरी नगरपालिका वडा नं ११ कट्टिगाउँका दलित समुदाय ऋण तिर्न नसेर गाउँ छोडेर बिस्थापित भएका छन् । बाबु, बाजेको पालादेखि साहुबाट लिएको ऋणको व्याज तिर्न पनि जीवन भरको को कमाइले पुग्न नसक्ने भएपछि दलित समुदाय गाउँ छोड्न बाध्य भएको हो ।
वडा सदस्य नन्दबहादुर बिकले साहुको ऋण तिर्न नसकेर आफ्नो घरजग्गा साहुलाई दिएर धर्मबहादुर वर पाँच जनाको परिवारसहित भारततिर जानुभएको बताउनुभयो । उहाँका अनुसार दुई बर्ष पहिला कट्टीगाउँ छोडेका धर्मबहादुर अहिले भारतको कुन ठाउँमा हुनुहुन्छ रु कुनै पत्ता लाग्न सकेको छैन ।
वर जस्तै गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सक्नुभएको छ । ६ जनाको परिवारसहित कट्टीगाउँ छोड्नुभएका लुहारले बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेको उहाँका छिमेकीले जानकारी दिनुभयो ।
यस्तै वीरभान वरको परिवार पनि ६ महिना पहिला गाउँ छोडेको छ । ऋण तिर्न नसकेपछि घरजग्गा साहुलाई दिएर चार जना परिवार कट्टीगाउँ छोडेर भारत जानुभए पनि अहिलेसम्म उहाँहरुको अवस्थावारे केही पत्ता लाग्न सकेको छैन ।
सोही ठाउँका मागे सुनार पनि ऋण तिर्न नसकेकै कारण घरजग्गा साहुकै नाममा नामसारी गरेर परिवारसहित भारत पस्नुभएको छ । चार महिना पहिले चार जनाको परिवारले गाउँ छोडेको थियो । उहाँको अवस्था पनि अज्ञात छ ।
साहुको ऋण तिर्न नसकेर गाउँअ छोड्न बाध्य भएका यी त प्रतिनिधि उदाहरण मात्र हुन् । कट्टीगाउँका १२० घरधुरीका दलित समुदाय मध्ये धेरैजसोले साहुबाट ऋण लिएका छन् । वडा सदस्य नन्दबहादुर विकका अनुसार साहुबाट पाँचलाख देखि आठ लाखसम्म ऋण नलिने कोही छैनन् ।
दलित अगुवा तथा भेरी नगरपालिकाका नगरकार्यपालिका सदस्य पार्वती विकले यहाँका दलित समुदाय बत्तीमुनिको अँध्यारो भएको र त्यस समुदायका लागि राज्यले विशेष कार्यक्रम संचालन गरी आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । उहाँले विगतमा त्यस्तो अवस्था भए पनि आगामी दिनमा भारत पलायन हुन नदिन विभिन्न रोजगार मूलक कार्यक्रम स्थानीय तहले ल्याउने जानकारी दिनुभयो ।
हालसम्म कट्टीगाउँबाट सरकारी जागिर खानेहरू मध्येका दिपक बिकमात्र एक जना हुनुहुन्छ । २०६० सालमा नेपाली सेनाको जवानमा भर्ती हुनुभएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाई सराई गरिसक्नु भएको छ ।
मुलुकको आर्थिक विकास उकासिंदै गएको सरकारी तथ्यांक आउने गरेको छ, देशले समृद्धिको बाटो समातेको र अब कोही भोका र नांगा रहनुनपर्ने दावी गरिरहे पनि दुर्गम क्षेत्रकाा सिंगो गाउँ नै ऋणको पचेटाममा परेको यो खबरले हाम्रो सामाजिक आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्