दक्षिण कोरियाको दावी- कोरोना भाइरसबाट उत्तर कोरियामा एक सय ८० सैनिकको मृत्यु
बाहिरी संसारबाट अलग रहेको उत्तर कोरियामा कोरोना संक्रमण व्यापक रुपमा फैलिएको र त्यहाँ एक सय ८० सैनिकको कोरोनाकै कारण मृत्यु भएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।
दक्षिण कोरियाको डेली एनकेले मंगलबार सैनिक स्रोतलाई उद्धृत गर्दै कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण जनवरी महिनामा मात्र १ सय ८० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र फेब्रुअरीमा झन्डै ३ हजार सात सय सैनिकलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । समाचारमा जनाइएअनुसार मृत्यु भएका सैनिक चीन र उत्तर कोरियाको सीमाक्षेत्रमा खटिएका थिए ।
सैन्य नेतृत्वले ब्यारेकहरूमा जिम्मा पाएका अस्पतालले उच्च ज्वरो, निमोनिया, टिबीका कारण मर्ने सैनिकको विवरण मागेपछि यो तथ्य सार्वजनिक भएको हो। सैनिक नेतृत्वले अहिले क्वारेन्टाइनमा रहेका सैनिकको विवरण पनि मागेको छ ।
अस्पतालहरूलाई मृत्यु भएकाहरूको शव जलाउन पनि भनिएको छ । उच्च अधिकारीहरूले पहिलादेखि नै स्वास्थ्य अवस्था कमजोर भएका सैनिकहरूको विशेष ख्याल गर्न पनि निर्देशन दिएका छन् ।
उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसको प्रभावबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन । दक्षिण कोरियाको योन्हाप न्युज एजेन्सीले कोरोनाको आशंकामा १० हजार उत्तर कोरियालीलाई क्वारेन्टाइनमा राखिएको समाचार छापेको छ । तीमध्ये ४ हजार जनालाई कोरोनाको लक्षण नदेखिएपछि घर फर्कन दिइएको छ ।
उत्तर कोरियाको रोदोङ सिन्मुन पत्रिकाले भने अहिलेसम्म कोरोना भाइरस उत्तर कोरिया प्रवेश नगरेको समाचार छापेको छ।
प्रतिक्रिया राख्नुहोस्