गीता छोएर कमल थापाको कसम : अब पार्टी फुट्न दिन्न
राप्रपाका नेताहरुको बेमेलकै कारण गणतन्त्र आयो
जुट, फुट र शीर्ष नेताहरुको आरोप प्रत्यारोपपछि अस्तित्वको संकटमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीहरु पुनः एक भएका छन् । बुधबार कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको राप्रपा एकता घोषणा भएको हो ।
एकता घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले गीता हातमा लिएर अब कसै गरी पनि पार्टी फुट्न नदिने गर्नुभएको छ । दोस्रो संविधानसभामा समानुपातिकबाट २५ सिट हाँसिल गरेको राप्रपा संघीय संसदको निर्वाचनमा जम्मा एक सिटमा विजयी भयो र राष्ट्रिय पार्टीको मान्यता समेत पाउन सकेन भने अन्य दुई राप्रपाको हालत त्योभन्दा कमजोर रहेको छ । यस्तोमा पार्टी एकता भएको हो ।
बुधबार राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा थापाले गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गर्दै भन्नुभयो यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न ।
पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतीज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताउनुभएको हो । अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने बताउँदै विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन भन्नुभयो ।
विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गर्दै भन्नुभयो ‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नुस्, यो नकारात्मक सोच राख्ने हो भने हामी सिथिल हुन्छौं । अब फुट्न दिन्नौं भनेर अघि बढ्नुपर्छ’ ।
राप्रपाका नेताहरुको बेमेलकै कारण गणतन्त्र आयो
कार्यक्रममा सांसद तथा राप्रपाका नेता राजेन्द्र लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको दावी गर्दै नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो तपाईहरु नजुधेको भए, हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो देशमा गणतन्त्र आउँथ्यो ? संघीयता आउँथ्यो ? भन्दै प्रश्न गर्नुभयो ।
भर्खर बहुदल आउँदैमा पार्टी दुई चिरा भएको र त्यतिबेलादेखि नेताहरुमा चेत नआएको आरोप लगाउँदै लिंदेनले नेताहरुलाई आफूलाई मात्र बर्बाद गर्नुभएन, बहुदल आउँदा तपाईहरुले कांग्रेस– कम्युनिस्टको विकल्प दिनुहुन्छ भनेर आशा गरेका थिए अब पनि चेत आउनुपर्दैन भन्नुभयो ।
अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको भन्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्ने र पार्टी बाहिर रहेर नेताहरुबाट आशा गर्नेहरुलाई धोका दिने काम नगर्न आग्रह गर्दै अब पनि धोका दिने हो भने देश र धर्मलाई धोका दिनु हो भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्