राजनीति

मानवअधिकारको नाममा मानव जीवन नै जोखिममा पार्ने पश्चिमा सूत्र घातक, नेपालले अपनाउनेछ चिनीया मोडल

विश्वका १ सय ८८ मुलुक कोरोना भाइरस (कोभिड १९)को महामारीमा छ । शक्तिशाली र धनी मुलुकहरु यसको महामारीमा परिरहेका बेला गरीब र स्रोत साधन सीमित भएको नेपाल जस्ता मुलुकमा कोरोना संक्रमण बढ्यो भने यसले अकल्पनीय स्थिति उत्पन्न गर्ने हुँदा सरकारले यसका लागि तत्कालै प्रभावकारी उपाय अपनाउने भएको छ ।

चीनबाट सुरु भएको कोरोना संक्रमण चीनमा समाप्त भएको घोषणा भए पनि विश्वभर फैलिरहेको छ । यसको कारण सुरक्षा उपाय भरपर्दो नहुनु नै हो । सानो लापरवाहीले ठूलो विनाश निम्तिन सक्छ भन्ने उदाहरण इटालीको घटनाले दिएको सन्दर्भमा नेपालले पनि चीनकै जस्तो विधि अपनाउने संकेत आइतबार एक मन्त्रीले दिए ।

चीनले कोरोनाको उद्गमस्थल मानिएको वुहान बाहेक अन्य प्रान्त तथा शहरहरुमा लकडाउन गरेर नागरिकलाई आवश्यक सामग्री उपलब्ध गराएको थियो । चीनको मोडललाई सुरुमा पश्चिमाहरूले मानव अधिकार हनन तथा अमानवीय व्यवहार भनी प्रतिक्रिया दिए । तर यतिखेर सबैजसो मुलुकले यही मोडल कार्यान्वयन गर्न लागिराखेका छन् । मानवअधिकार रक्षाको नाममा मानव जीवन नै जोखिममा पार्ने पश्चिमा सूत्र यतिबेला विश्वका लागि घातक सावित भैरहेको छ ।

नेपालले पनि संक्रमण फैलिनु अगावै त्यही बिधि अपनाउने गरी तयारी थालिएको बताइएको छ । आइतबार संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिनुभएको हो ।

वुहानमा संक्रमण देखापरेपछि चीनले सबैलाई नै कर्फ्यु जस्तै अवस्था बनाएर खानेपानी, खानेकुरालगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो । राज्यले मानिसलाई घरमै राखेर सेना, प्रहरी लगायतमार्फत आवश्यक सामान उपलब्ध गरायो । सबैजसो घरमा गएर परीक्षण गरियो । पोजेटिभ देखिएका र निमोनिया लागेकालाई अस्पतालमा लगेर उपचार गरियो ।

नेपालमा चिनियाँ मोडल एकद्वार प्रणालीअनुसार हुने भएकाले संक्रमण रोकथाम र नियन्त्रणमा अलि बढी प्रभावकारी हुने चीनबारे जानकार तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार राज्यले नै सेवा सुविधा प्रवाह गर्दा प्रभावकारी हुने देखियो । यो मोडल प्रभावकारी देखियो । सुरुमै अस्पताल भर्ना हुँदा ठीक भएको संख्या पनि ठूलो छ । तर इटालीको अवस्था विकराल छ । चिनियाँ मोडल जस्तै गर्न पूर्वाधारको तयारी र परीक्षण किट्सबाट बढी परीक्षण गर्नुपर्छ । चीनले छोटो समयमा अस्पताल पनि निर्माण गरेको थियो ।

चिनियाँ मोडललाई पछ्याउन नेपाल र चीन सरकारको चिकित्सक टोलीबीच दुई दिनअघि भिडियो कन्फरेन्स पनि भएको थियो । कन्फरेन्समा चिनियाँ चिकित्सक टोलीले चीनमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा आफूहरूले हासिल गरेको सफलताबारे जानकारी दिएका थिए । कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न कसरी सकिन्छ भनेर नेपाल सरकारले चिनियाँ सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको एक सचिवले बताएका छन् । उहाँका अनुसार ‘निकट भविष्यमा चीनबाट एक टोली आउने र उसले प्रशिक्षण दिने उहाँको आशा छ ।

त्यसो त चीन सरकारले कुनै पनि अवस्थामा सहयोग गर्न तयार रहेको पत्र पठाएको छ । नेपालस्थित चिनियाँ दूतावासका एक अधिकारीका अनुसार चीन नेपाललाई मेडिकल सामग्रीसहित कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न तयार छ । नेपाललाई आवश्यक पर्दा दैनिक उपयोगका सामग्री पनि निर्यात गर्न तयार रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.