पोर्चुगलमा एक गर्भवतीसहित एउटै फ्ल्याटमा बस्ने आठजना नेपालीलाई कोरोना संक्रमण
पोर्चुगलमा आठजना नेपालीलाई एकैपटक कोरोना संक्रमण भएको छ । राजधानी लिस्बनको मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएका उनीहरु सबैलाई कोरोनाको संक्रमण भएको छ ।
समाचार अनुसार संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा कोरोना संक्रमण देखिने नेपालीको संख्या नौ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले दिएको जानकारी अनुसार उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको र उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालीमा कोरोनाको संक्रमण बढ्न थालेपछि लिस्बनस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गर्नुभएको छ । त्यस्तै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले सजग भएर बस्न आग्रह गर्दै सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्