सम्भावित सबै व्यक्तिको ‘र्यापिड’ परीक्षण गरिने
सरकारले कोभिड–१९ सङ्क्रमणको सम्भावना भएका व्यक्तिहरुलाई ‘र्यापिड डायग्नोस्टिक टेस्ट’ गर्ने भएको छ । हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिको परिवार, नजीकका व्यक्ति, यही महिना विदेशबाट आएका व्यक्ति र तिनका सम्पर्कमा आएकामा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने भन्दै परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आाइतबारको नियमित पत्रकार सम्मेलनमा जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त प्रविधिबाट ‘पोजिटिभ’ देखिए पिसिआर प्रविधिबाट पुनःपरीक्षण गरेर यकिन गरिने बताउनुभयो । कैलाली र कञ्चनपुरमा सङ्क्रमण देखिएका व्यक्तिका परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्तिसँगै सबै क्वारेन्टाइनका व्यक्तिहरुको यस्तो परीक्षण गर्न लागिएको हो । बाग्लुङ जिल्लामा पनि उपचाररत सङ्क्रमित व्यक्तिका बासस्थान वरपर र सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने भएको छ । चैत महिनामा विदेशबाट आएका सबै र अरूसँग लागेका व्यक्तिमा सो परीक्षण गरिने प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयानुसार यस्तो परीक्षण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार ५२९ जनामा कोभिड–१९ को परीक्षण गरिसकेको छ । उपत्यकाबाहिर धरान, पोखरा, जनकपुर, हेटौँडा, सुर्खेत र धनगढीमा नमूना परीक्षण शुरु भइसकेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । चितवनमा आजदेखि शुरु भए पनि बुटवलमा आज शुरु हुन नसकेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ भोलिबाट सो परीक्षण शुरु हुनेछ ।”
काठमाडौँ उपत्यकामा १२ र उपत्यकाबाहिर १०१ गरी जम्मा ११३ जना व्यक्ति आइसोलेशनमा रहेका छन् । सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबै सङ्क्रमित व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ शुरु भइसकेको प्रवक्ता डा देवकोटाले बताउनुभयो । हिजो सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिको ‘कन्ट्याक टे«सिङ’ भइसकेको पनि डा देवकोटाले बताउनुभयो ।
भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सेवामा खटिएका व्यक्तिलाई बाधा वा विरोध गर्नेलाई कारवाहीको व्यवस्था गरेको थियो । यसले गर्दा कार्यरत सबै स्वास्थ्यकर्मीको थप मनोबल बढेको उहाँको भनाइ छ ।
क्वारेन्टाइन गुणस्तर मापदण्डानुसार सञ्चालन हुनुपर्नेमा प्रवक्ता डा देवकोटाले जोड दिनुभयो । यी क्वारेन्टाइनहरुको अनुगमन भइरहेको पनि उहाँले बताउनुभयो । सबै अस्पतालले सेवा लिन आउने बिरामीलाई आकस्मिक सबै सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि समस्या लिएर आएका बिरामीले एक अस्पतालबाट अर्कोमा जाने अवस्था आउन दिनु हुँदैन ।”
विदेशबाट आएका व्यक्तिबाट उनको परिवारको सदस्यमा सङ्क्रमण देखिएसँगै नेपालमा रोगले दोस्रो अवस्थामा प्रवेश गरेको उहाँले बताउनुभयो । विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा नबसी परिवारका सदस्यसँग सम्पर्कमा आउँदा सङ्क्रमण फैलन सक्ने भन्दै उहाँले क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित व्यक्तिबाट सङ्क्रमण परिवारका सदस्यमा सरेकाले पनि क्वारेइन्टाइन कति महत्वपूर्ण छ भनी देखिएको छ ।”
सरकारलाई नेपाल–भारत मानव विकास मैत्री सङ्घले ३०० र एनएमबी ७०० थान पिपिई प्राप्त भएको उहाँले बताउनुभयो । त्यसलाई हरेक प्रदेशमा सयसय वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्