एउटै बसमा सयौं मानिस- न परीक्षण, न सामाजिक दूरी : संक्रमणको उच्च जोखिम
– यादब देवकोटा
एक महिना भयो मुलुक लकडाउनमा परेको र यसबीचमा खानेकुराकै अभाव झेल्न नसकेर अनि त्रासले उपत्यका लगायत शहरी क्षेत्रमा काम गर्नेहरु आआफ्नो घरजाने क्रम निरन्तर जारी छ । कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा सयौं मानिसहरु हुललहुल गर्दै घर जाने हतारमा रहँदा संक्रमणको अरु जोखिम बढेको भए पनि सरकारले यस दिशातिर पटक्कै चासो दिएको छैन ।
राजधानीका मुख्य नाकाहरु कलंकी, कोटेश्वरमा आजभोलि घरजानेहरुको लर्को छ र उनीहरुका लागि जनप्रतिनिधि तथा व्यवसायीले बसको बन्दोबस्ती गरिदिएका छन् । तर उनीहरु घरमा कोरोना जोखिममुक्त भएर पुग्छन् कि संक्रमित भएर भन्ने प्रश्न उठेको छ । सरकारले घर जानेहरुको कम्तिमा र्याडिप टेष्ट गरेर पठाउने व्यवस्था किन नगरेको भन्ने गुनासो अहिले बढिरहेको छ ।
हुन पनि मंगलबार काठमाडौंको कोटेश्वरमा जे देखियो यसले लकडाउनको कुर्न अर्थ नभएको अनुभव भएको छ । घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डोर्याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए । पाँच हजारभन्दा बढी मानिस घर जानका लागि कोटेश्वरदेखि गठ्ठाघरसम्म लामबद्ध थिए ।
भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक सबिन प्रधानले भने सामाजिक दूरी कायम गरी घर जान आग्रह गर्नुभएको थियो । “सबै घर जान पाउनुहुन्छ, नआत्तिईकन जानुस्, तपाईंहरूकै लागि हो” भन्दै उहाँ सबैलाई सम्झाउँदै हुनुहुन्थ्यो । बन्दाबन्दीका कारण मजदुरलाई धेरै गाह्रो भएको प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मानिसको भीडले सामाजिक दूरी कायम गर्न पनि हम्मे भएको छ । ५० देखि ६० वटा गाडी छन् होला, सबैलाई मिलाएर घर पठाउँछौँ । ”
यो भीड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडीबुटी क्षेत्रमा पुगेको थियो । पाँच महिनाको दुधे बालक बोक्दै भीडमा पुग्नुभएका ललिता थामी भन्दै हुनुहुन्थ्यो, “दोलखा हिँडेको, गाडी त आउँछ होला नि । आएन भने तनाव हुन्छ । ” उहाँलाई गाडी कति बेला आउँछ भन्ने थाहा थिएन । तर स्थानीय जनप्रतिनिधिले नै भनेकाले आउँछ होला भन्ने विश्वास थियो ।
“हामीलाई त वडाध्यक्षले लोकन्थलीमा गाडी आउँछ, जानू भन्नुभएको हो”, रामेछापका प्रवीणकुमार मगरले भन्नुभयो, “साँझ ७ बजेसम्ममा आइपुग्छ भनेको हो । ” लोकन्थली क्षेत्रमा पुग्नेमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका बासिन्दा थिए । रोजगारी तथा अध्ययनका लागि काठमाडौँमा बस्दै आएका उहाँहरू बन्दाबन्दी लम्बिएपछि घर फर्किन चाहे पनि गाडी नपाएर रोकिनुभएको थियो ।
न खानेकुरा छ न घर सजिलै जान पाइने अवस्था छ । यस्तोमा सरकारले जहाँ छ त्यही खाद्यान्न पुर्याउने दावी गरे पनि स्थिति यसको विपरीत रहेका कारण त्रासकै कारण घर जानेहरु बढेका हुन् र उनीहरुलाई सरकारले भरोसा दिलाउन सकेको छैन । अहिले जसरी घर जानेहरुको भीड लागेको छ यो कोरोना संक्रमण बढाउने उच्च जोखिमयुक्त अवस्था हो ।
घर जान चाहनेहरुमा पनि राजनीति भैरहेको छ । सांसद तथा मन्त्रीले आफ्ना निर्वाचन क्षेत्रका मानिसहरुलाई कोचाकोच गरेर घर पठाउने गर्दा सरकारी नीतिको उल्लंघन भएको छ । यस्तो अवस्थामा कम्तिमा उनीहरुको परीक्षण गरेर जहा छन् त्यही खाने बस्ने व्यवस्था गरेर रिपोर्ट आएपछि मात्रै घर पठाउनुपर्नेमा हजारौं मानिसलाई कोचाकोच गरेर पठाउँदा सामाजिक दूरी कसरी कायम भयो ? कारोना संक्रमणको सम्भावना किन रहेन ?
खै यता ध्यान गएको ? के यस्तै पाराले कोरोना संक्रमण नियन्त्रण हुन्छ ?
प्रतिक्रिया राख्नुहोस्