सामान्य ज्वरोका बिरामी अस्पतालले नहेरेपछि कोभिड क्लिनिक संचालन
सरकारले यसअघि अस्पताललाई ज्वरो (फिवर) क्लिनिक सञ्चालन गरे पनि सामान्य ज्वरोका बिरामी त्यस्ता क्लिनिक संचालन गरेका अस्पतालले नहेरेपछि अब कोभिड क्लिनिक सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका यादवप्रसाद कोइरालाका अनुसार “पिलो, कान दुख्ने बिरामीलाई पनि ज्वरो आउँछ । तर बिरामीलाई फिवर क्लिनिक सञ्चालन गरेका अस्पतालले हेरेनन्”, उहाँले भन्नुभयो, “त्यसैले कोभिड क्लिनिक सञ्चालन गरेका अस्पतालमा त्यस्ता बिरामी पठाउने भनेका छौँ ।’’
सरकारले शङ्कास्पद बिरामीलाई पहिले आइसोलेसनमा राखेर मात्र उपचार गर्ने भएको छ । आइसोसेलनमा राखेपछि परीक्षण गरेर बिरामी भएका सघन उपचार कक्षमा राखिने बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नेपालले परीक्षण बढी गरेको छ । अहिले १५ वटा पिसिआर मेसिन र ७५ जिल्लामा आरडिटी परीक्षणबाट करिब ४० हजारको परीक्षण गरिएको छ ।
सरकारले चीनबाट आएका दुई पोट्रेबल मेसिनलाई जोखिम ठाउँमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखेको छ । ‘‘जुन ठाउँमा सङ्क्रमण देखिन्छ । त्यो ठाउँलाई सिल गर्दछौँ’’, उहाँले भन्नुभयो, “अनि मेसिन लगेर हामी परीक्षण गर्ने छौँ ।’’
विदेशबाट आएका सबैको परीक्षण गर्नेछ । आरडिटी (र्यापिड डायग्नोष्टिक टेस्ट) बाट पहिला गर्ने र त्यसमा शङ्का लागेकोको पिसिआरबाट गरिने सचिव कोइरालाले बताउनुभयो । मन्त्रालयले विदेशबाट आएका, तिनीहरूको संसर्गमा रहेका, सङ्क्रमित रहेको समुदाय र सङ्क्रमितको कन्ट्र्याक ट्रेसिङ गरेर तिनीहरूमा पनि परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
विदेशबाट सङ्क्रमित भएका व्यक्तिको ट्राभल हिस्ट्री हेरेर त्यसका आधारमा उसले हिँड्दा प्रयोग गरिने सवारीसाधन र आफन्त, साथीभाइसँगको भेटघाट गरेको छ ती सबैको परीक्षण गरिएको उहाँले बताउनुभयो ।
गत चैत ११ गते बन्दाबन्दी (लकडाउन) अवस्था हेरेर खोलिने सरकारको तयारी रहेको छ । उहाँले लकडाउन खोल्नका लागि कोभिडको बिरामी सकियो वा फैलिन अवस्था हेरेर मात्र निर्णय गर्ने बताउनुभयो ।
‘‘लकडाउन खोल्न अझै पनि चारपाँच दिन बाँकी रहेको छ । त्यो दिनमा विश्लेषण गर्छौं । छिमेकी देशमा कति बढेको छ त्यो हेर्छौं । आन्तरिक रूपमा ट्रान्समिसन कति भएको छ त्यो हेर्छौ’’, उहाँले भन्नुभयो, “परीक्षणको दायरा बढाएर सङ्क्रमित भेटिन्छन् वा भेटिँदैनन् त्यो हेछौं । ठूलो सङ्ख्यामा (मास)मा पनि परीक्षण गर्छौं । त्यो हेरेर मात्र निक्र्योल निकाल्न सक्छौँ । लकडाउन गर्ने वा नगर्ने भनेर ।’’
सचिव कोइरालाले ५० हजार बिरामीका लागि औषधि ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले नेपालमा दुई महिना पुग्ने औषधि रहेकाले ५० हजार बिरामीलाई आवश्यक पर्ने औषधि ल्याउनका लागि बोलपत्र आह्वान र सरकार–सरकार (जिटुजी) दुवै प्रक्रियाबाट ल्याउन थालिएको बताउनुभयो । उहाँका अनुसार चीनसँग जिटुजी प्रक्रिया थालिएको छ ।
उत्पादन गर्ने क्षमता सीमित भएकाले चीनमा पनि थोरैथोरै ल्याइरहेको जानकारी गराउनुभयो । ‘‘थोरै थोरै सामान आइरहेको हुनाले थेग्न सजिलो भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कोभिड अस्पतालका लागि हामीसँग पर्याप्त सामग्री रहेको छ । किन्ने प्रक्रिया निरन्तर रहेकाले सामग्री अभाव हुन दिन्नौं ।’’
कोभिड–१९ को परीक्षण एक महिना अगाडि बोलपत्रबाट ल्याइएका औषधि र सामग्रीे थेगेकाले अहिले पहिलेको जस्तो चिकित्सकमा गुनासो नभएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्