अर्थ

कोरोना उपचार सामग्रीको नाममा अन्य सामग्री आयात : जनप्रतिनिधि आन्दोलित

नेपाल र चीनको प्रमुख व्यापारिक नाका तातोपानीबाट कोरोना भाइरस रोकथाम तथा उपचारका सामग्रीको नाममा व्यापारिक प्रयोजनका वस्तु आयात गरिएको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि आन्दोलित भएका छन् ।

उनीहरुले कोरोना भाइरस उपचार सामग्रीको नाममा तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान आयात हुन थालेको भन्दै तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।

स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाउनुभएको हो । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउनुभयो ।

गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यवस्तु ९चामल, दाल, तेल, नुन० मात्रै ल्याइनुपर्ने हो तर केही दिनअघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौँ लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।

लकडाउनमा स्वास्थ सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुनलगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.