कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजारको मृत्यु, भारतमा रेलसेवा सुरु
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान गएको छ । अघिल्लो दिन ४ हजार २४८ जनाको मृत्यु भएको थियो ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ६५ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ८५५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय ५० जनाको मात्र ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ४२२ जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ७८७ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १६५, स्पेनमा १४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ ।
यसैबीच भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मंगलबार देखि पुनः सुचारु हुने भएको हो ।
भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिनुभएको हो । आइतबार उहाँले ट्वीट गर्दै सो जानकारी दिनुभएको थियो । उहाँको जानकारीको लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ । रेल सेवाका लागि सोमबारदेखि नै अनलाइन बुकिङ हुने छ । सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम सुरू हुन लागेको बताइएको छ ।
मंगलबारदेखि सुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन् ।
भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरुले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ ।
भारतीय अधिकारीहरुले यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाएका छन् । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न नदिइने बताइएको छ ।
त्यसैगरी यसरी यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । भारत सरकारले यसअघि अलपत्र परेका मजदूरको उद्धारका लागि पनि रेल सेवा सुरु गरेको थियो । यही मे १ देखि श्रमिक रेलहरु सञ्चालनमा ल्याएको बताइएको थियो । ती रेलहरुले भारतका विभिन्न स्थानमा अलपत्र परेका ठूलो संख्याका मजदूर तथा विद्यार्थीको उद्धार गरेको सरकारले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्