जन सरोकार

नेपालीलाई गाडी रिजर्भ गरेर भारतीय प्रहरीले नै सीमामा छाड्ने गरेको खुलासा

नेपालमा लकडाउन गरिए पनि भारतीय प्रहरीले गाडी रिजर्भ गरेर नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेको पाइएको छ । पछिल्लो समय भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको र अझै सीमा क्षेत्रमा नेपालीहरुको भीड रहेका बेला यस्तो रहस्य खुलेको हो ।

भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेकाहरुले नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको बताएका छन् ।

सीमामा अलपत्र परेकाहरुलाई दुई दिन अगाडि नेपाल ल्याइएको हो । लीलाराम मावि र भैरहवा नमूना माविको क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले भारतीय प्रहरीले नै गाडी व्यवस्था गरेर पठाएको बताए । नमूना माविको क्वारेन्टाइनमा बस्नुभएका कपिलवस्तु महाराजगञ्जका राजीव केवटले भन्नुभयो, “दिल्लीमा कपडा बनाउने ठाउँमा काम गथ्र्यौँ, बन्द भएपछि हिँड्यौँ । उतैबाट गाडीले नौतनवासम्म ल्याएर छाडिदिएको हो ।”

बम्बईमा काम गर्ने रुपन्देही, कोटहीमाई गाउँपालिकाका पिन्टु यादवले काम गर्ने कम्पनी बन्द भएपछि साइकलमा निस्किएको र भारतीय प्रहरीले ट्रक रोकाएर पठाएको बताउनुभयो । क्वारेन्टाइनमा बसेका कञ्चनपुरका धिरु राना, नुवाकोट सूर्यगढीका वासुदेव लामिछाने, रुपन्देही गैडहवाका कोलन चाइलगायतले भारतीय प्रहरीको सहयोगमा नेपालको सीमासम्म आएको बताउनुभयो ।

बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताउनुभएको थियो ।

भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो एक हजार किलोमिटर टाढाको गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ । भारतमा बन्दाबन्दीमा रेल सेवासमेत शुरु भएपछि दैनिक हजारौँ नेपाली स्वदेश फर्किन थालेका छन् ।

रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरुलाई राखेको छ । बुधबार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।

बेलहिया नाकासँग जोडिएको जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगरपालिका, भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा प्रवासी नेपालीलाई राखिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । नगरको शैक्षिक तालीम केन्द्रको क्वारेन्टाइनमा ५७, लीलाराम माविको क्वारेन्टाइनमा १८०, नमूना माविको क्वारेन्टाइनमा ६४ र प्रतिमान नीमा प्रतिष्ठानको क्वारेन्टाइनमा ८९ जना राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.