अस्पतालबाट घर गएकी सुत्केरीको कोरोनाबाट मृत्युपछि नेपाल उच्च जोखिममा : संक्रमितको संख्या २ सय ९१ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु भएको छ र गत बिहिबार धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोक बलेफीकि २९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
अर्को जोखिमपूर्ण कुरा के छ भने मृतक महिला त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन । उनलाई कोरोना पहिले नै थियो वा अस्पतालबाट संक्रमित भयो वा घर पुगेपछि भन्ने गम्भीर अनुसन्धानको विषय बनेको छ ।
यसबीच धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गर्न स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टिनमा राखिएको छ । मृतकका परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पुर्याएका थिए ।
अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले १० दिनकी ती सुत्केरी महिलाको मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताउनुभयो ।
डा ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा शुक्रबार पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
धुलिखेल अस्पतालका अनुसार बिहीबार राति ९ः३० बजे अस्पताल ल्याइपु¥याउँदा नै ती महिलाको अवस्था निकै गम्भीर थियो र ट्युब राखेर भेन्टिलेट गर्दा पनि सुधार आएको थिएन । महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उहाँहरूलाई पनि अस्पतालको क्वारेन्टिनमा राखिएको छ । मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ ।
मृतकका परिवारले गत वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा महिला सुत्केरी भएकी र २४ गते अस्पतालबाट घर पठाइएको केही दिनपछि स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले मृतक महिलाको थप परीक्षणको रिपोर्ट आएपछि अस्पताललगायत जिल्लामा थप सतर्कता अपनाउनेबारे निर्णय गरिने जानकारी दिनुभयो ।
उता रौतहटमा १० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।
नयाँ सङ्क्रमितमा सबै रौतहटका पुरुष रहेका छन् । उहाँका अनुसार राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष र इशनाथ नगरपालिका वडा नंं ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै सङ्क्रमितको सङ्ख्या २९१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् । नेपालमा शनिबार पहिलोपटक कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्