कोरोना संक्रमित शिक्षक मृत्यु प्रकरण : शव अझै उठेन, उपचारमा खेलवाडको आशंका
गुल्मी मदानेका ४१ वर्षीय शिक्षकमा कोरोना संक्रमणको उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना गरिएर भेन्टिलेटरमा राखिए पनि उनको उपचार नभएको आरोप परिवारले लगाएका छन् र शव उठाउन मानिरहेका छैनन् ।
यसको पुष्टिका लागि बुधबारको घटनालाई लिन सकिन्छ । बुधबार विहान उनको निधन भएको भन्दै प्रदेश ५ का मन्त्रीलाई अस्पतालका एकजना उच्च ओहदाका पदाधिकारीले जानकारी दिए, सोही आधारमा विभिन्न अनलाइनहरुमा मन्त्रीको भनाई उल्लेख गर्दै समाचारहरु आए ।
तर अस्पतालले अघिल्लो दिनको मिति राखेर विज्ञप्ति निकाल्दै बिरामी जीवितै रहेको बतायो । जेठ ७ गते मृत्यु भएको समाचार बाहिरिने तर अस्पतालले जेठ ६ गते विज्ञप्ति निकाल्ने ? गडबडी यहीबाट सुरु भएको छ ।
जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।मृतकका भाइले जेठ ५ गते कोरोना देखिएपछि बिरामीले उपचार नै नपाएको दाबी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
सुरुमा ज्वरोको समस्या देखिएका मृतकले गाउँकै पोलिक्लिनिकमा चेकजाँच गराएर टाइफाइडको औषधि खाएका थिए । वैशाख ३० गते रातिदेखि नै वान्ता भएपछि जेठ १ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा जाँदा जण्डिस बिग्रिएको भनी रेफर गरिएको थियो । जेठ १ गते नै क्रिमसन अस्पताल आएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पतालले जनाएको थियो ।
मृतकका भाइले आफूहरूले क्षतिपूर्तिको कुरा नगरेको बताएँदै दाजुलाई कोरोना संक्रमण भएको भन्नेमा पनि शंका रहेकाले पुनः परीक्षण गराउनुपरेको खुलाए । तर, दोस्रो परीक्षणको रिपोर्ट आइसकेको छैन । ‘गाउँमा कसैलाई पनि कोरोना देखिएको छैन, दाइ कतै जानुभएको पनि छैन’ उनले भने, ‘अनि कसरी कोरोना देखियो ?’
उनका अनुसार जब कोरोनाको रिपोर्ट आयो, त्यसपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन् अस्पतालले राम्रोसँग उपचार गरेको भए दाइको ज्यान जाने थिएन, चरम लापरवाही भएको छ । त्यस्तै उनले बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरूलाई कुनै जानकारी नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताएका छन् ।
ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दूध आफैँ खाएको उनले बताए । कोरोना पोजेटिभ देखिएपछि आफूहरूलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र बिरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।
त्यस्तै मृतकका सालाको भनाई अनुसार मदानेको पुर्कोटदहबाट सन्धिखर्कसम्म मोटरसाइकमा चढेर गएको र एम्बुलेन्समा मणिग्राम आएपछि अस्पतालको गेटबाहिरबाट इमर्जेन्सीसम्म पैदल हिँडेरै गएकाले बिरामीको अवस्था त्यस्तो नाजुक थिएन ।
उनका अनुसार बुधबार विहान आफूहरु हेर्न जाँदा आईसीयू कक्षको ढोका र झ्याल पूर्णरुपमा बन्द हुनुपर्नेमा झ्यालको सिसा खुल्लै रहेको, सोफा बाङ्गो बनाएर राखिएको थियो ।
क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले बिरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दाबी गर्दै यस्तो अप्ठ्यारो अवस्थामा सेवा दिइरहेका भए पनि अस्पताललाई नै दोष दिने कुरा सरासर गलत भएको बताए । उनका अनुसार बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई पीडा हुनु स्वभाविक हो । तर, अस्पताल र डाक्टरलाई दोष दिनु झन् ठूलो अन्याय हो ।
प्रतिक्रिया राख्नुहोस्