राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीहरुलाई नयाँ नक्सा हस्तान्तरण
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरीसहित जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ ।
शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्शा हस्तान्तरण गर्नुभयो ।
त्यस्तै उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । मन्त्री अर्यालले दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष दाहालले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभएको थियो ।
मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पार्नुभएको थियो । सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशकलगायतको उपस्थिति रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
त्यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि पूर्ण नक्शा हस्तान्तरण गरिएको छ । मन्त्री अर्यालले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायतका विशिष्ठ व्यक्तिहरुलाई नक्सा हस्तान्तरण गर्नुभएको हो ।
जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको पूर्ण नक्शा स्वीकृत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्