राजनीति

विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

भातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्ने

सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउने क्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो ।

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।

एकतामा जोड

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसै अवसरमा सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले रोगका कारण दिवङ्गतप्रति श्रद्धाञ्जलिका साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.