क्वारेन्टिनमा बसेका वृद्ध र भारतबाट फर्किएका युवकको मृत्यु
बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीया जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
ज्याला मजदूरीका लागि अछाम जानुभएका उहाँलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उहाँसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उहाँको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।
यसै गरी भारतको गुजरातबाट सुर्खेतको वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।
मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।
प्रतिक्रिया राख्नुहोस्