जसपाको केन्द्रीय अध्यक्ष महन्थ र उपेन्द्र, डा. बाबुराम संघीय अध्यक्ष
रातारात एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जसपामा डा. बाबुराम भट्टराई संघीय अध्यक्ष रहनुभएको छ ।
गत वैशाख १० गते मध्यरातमा दुई पार्टी एकताको सहमति जुटे पनि नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो । आइतबार साँझ पार्टीका शीर्ष नेताहरु बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आयोग कार्यालय पुगेर दल दर्ताका लागि कागजात बुझाउनुभएको हो ।
जसपाको दल दर्ता नम्बर १३९२ छ । कागजातको आबश्यक छानविन गरेपछि आयोगलाई जसपालाई औपचारिक मान्यता दिनेछ । आयोग स्रोतले कागजपत्रको अध्ययन गरी ४५ दिनभित्र दल दर्ताको प्रक्रिया सकिने बतायो । गत बैशाख १० मा राजपा र समाजवादीबीच पार्टी एकताको घोषणा भएको थियो । त्यसको भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेर एकताबारे लिखित जानकारी दिएका थिए ।
यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरुको कार्यविभाजन भएको थियो । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो छन् ।
तर, आयोगमा बुझाएको कागजमा भने भट्टराई र महतोलाई बरिष्ठ नेताका रुपमा राखिएको छ । भट्टराई निकट स्रोतले वरियता विववाद नटुंगिएको तर कागजपत्र बुझाउनुपर्ने अन्तिम दिन आइतबार भएकाले भट्टराईले तत्कालका लागि जुनसुकै पदमा राखे पनि हुन्छ भनेपछि उनको नाम बरिष्ठ नेतामा राखिएको बतायो ।
शीर्ष नेताहरु वरियता विवादलाई थाँती नै राखेर निर्वाचन आयोग पुगेका हुन् । वरियताको विषय आपसी सल्लाहमा टुंगाइने नेताहरुको दावी छ । शीर्ष नेताहरु वरियता विवादका कारण बबरमहलस्थित राजपाकै कार्यालयमा साँझसम्म रोकिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्