नयाँ नक्साले पायो संवैधानिक मान्यता- राष्ट्रपतिबाट प्रमाणिकरण, देशभर दीप प्रज्वलन गर्न आव्हान
नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा संविधान संशोधन भएपछि बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नुभएको हो ।
तिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित भई पुनस् प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो ।
सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।
यसबीच राष्ट्रिय सभामा संशोधन विधेयकमाथि छलफमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधारणमा आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्