राजनीति

एमसिसी परियोजना गुमे देशको आर्थिक विकासमा असर

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल सो परियोजना सङ्घीय संसदबाट अनुमोदन हुनुपर्नेमा जोड दिएको छ ।

सो पार्टीका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी देशको हित र आर्थिक प्रगतिको पक्षमा रहेको भन्दै यो परियोजना गुमे मुलुकको आर्थिक विकासमा असर पुग्ने बताउनुभयो ।

प्रतिनिधिसभाको वैठकको विशेष समयमा सांसद कार्कीले एमसीसी परियोजना देशको तीब्र विकास र गरिबी निवारणमा केन्द्रित रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री समेत रहेका सांसद कार्कीले एमसीसी सम्झौताले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग पाउने भएकाले यो परियोजना मार्फत ऊर्जा र सडक निर्माणको क्षेत्रमा खर्च गर्नसकिने बताउनुभयो । उहाँले एमसीसी परियोजना सफल भए देश विकासमा कोषेढुङ्गासावित हुने भन्दै सम्झौता पारदर्शी र राष्ट्रहितको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

विश्वका ५० भन्दा बढी मुलुकले एमसीसीको सहयोग लिएर आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै उहाँले जलविद्युत् क्षेत्रका लागि यसले ठूलो गेम चेन्जरको भूमिका खेल्नसक्ने विश्वास व्यक्त गर्नुभयो । सांसद कार्कीले एमसीसी परियोजना संसदीय प्रक्रियाबाट आएको राष्ट्रहितको सम्झौतालाई राष्ट्रघाती भनेर विरोध गर्नुले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउनुका साथै अन्तर्राष्ट्रिय छबि धमिलिने खतरा औँल्याउनुभयो ।

एमसीसी परियोजना सन् २०१७ सेप्टेम्बर १४ मा नेपाल सरकार र अमेरिकी सरकारका अधिकारीबीच सम्झौता भएको थियो । एमसीसी सम्झौता गुमे नेपाललाई आर्थिक क्षतिका साथै अन्तर्राष्ट्रिय विश्वास घट्ने सांसद कार्कीको भनाइ थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद हितबहादुर तामाङले एमसीसी आफैँमा विवादित परियोजना भएको र अहिले छलफलमै रहेकाले विवाद नटुङिगएसम्म संसद्मा विषय वस्तु नबनाउन ध्यानाकर्षण गराउनुभयो । उहाँले दुई ठूला छिमेकी मुलुक भारत र चीनबीचको सीमा द्वन्द्वका बारेमा गम्भीरता जनाउँदै अहिलेकै अवस्थामा राजधानीका कतिपय स्थानमा हतियारधारी धार्मिक समूह फेला परेको घटनाका बारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यता नेकपाकै सांसद रेखा शर्माले एमसीसीबारे अनावश्यक बहस चुलिएको भन्दै यो परियोजनालाई देशको स्वाधिनता र समृद्धिको पक्षमा कसरी लैजाने भन्नेबारे सबै एकमत भएर सदनमा बहस हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसीसीको पक्ष र विपक्षमा विवाद निकालेर जनतालाई भ्रमित गर्ने काम नगर्न समेत सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.