कोभिड–१९ मा बढ्दो आत्महत्या : जनचेतना जगाउनु अत्यावश्यक
विश्वव्यापी महामारी भैरहेको कोरोना भाइरस कोभिड–१९ का कारण आत्महत्या बढेकाले जनचेतना फैलाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । पछिल्लो समय क्वारेन्टिनमा बसेका तथा नबसेकाहरुले आत्महत्या गरिरहेका छन् ।
यस्तोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा सरोजप्रसाद ओझाले कोभिड–१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाई त्यसलाई बढ्न नदिनुपर्ने बताउनुभयो ।
उहाँले कोभिड–१९ लाई रोकथाम र नियन्त्रण गर्न हामी सक्दछौँ, कोभिड– १९ लाई सजिलै जित्न सकिन्छ जस्ता सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले आत्महत्या २० प्रतिशतले बढेको छ । “कोभिड–१९ भन्दा अगाडि हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्दथे भने अहिले हरेक १७ देखि १८ जनामा आत्महत्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “अहिले २० प्रतिशत आत्महत्या बढेको छ । त्यसैले आत्महत्या रोक्न जनचेतना जगाउनुपर्दछ ।”
कोभिड–१९ अगाडि विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दथे भने कोभिड–१९ पछाडि अमेरिका ११ मात्रै मिनेटमा एक जना र भारतका हरेक दुई मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको उहाँले जानकारी दिनुभयो । बन्दाबन्दी ९लकडाउन०ले गर्दा २० देखि ४० वर्ष उमेर समूहका युवायुवती घर, क्वारेन्टिन र आइसोलेशन एक्लै बस्दा मनोसामाजिकमा नकारात्मक असर परी आत्महत्या गरेको पाइएको उहाँको भनाइ छ । उहाँका अनुसार युवामा आर्थिक, सामाजिक र पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर मनोविज्ञान कमजोर र डिप्रेसन बढेर जाँदा आवेशमा आएर आत्महत्या हुने गरेका छन् ।
उहाँले नेपालीको रोगसँग लड्न क्षमता बढी भएका कारणले सङ्क्रमणबाट धेरै मानिसले ज्यान गुमाउनु नपरेकोसमेत बताउनुभयो । मनोचिकित्सक डा ओझाले विभिन्न अनुसन्धानले २०७२ सालको भूकम्पपछि पनि यहाँका मानिसमा डिप्रेशन र आत्महत्याका घटना बढ्न सक्ने बताएपनि त्यो नभएको भन्दै अहिले हामीसँग रोगसँग लड्न क्षमताका कारण, हामीमा एकले अर्कोलाई सहयोग गर्ने संस्कृति जस्ता विभिन्न कारणले मनोसामाजिक समस्या कम भएको उल्लेख गर्नुभयो ।
डा ओझाले कोरोना भाइरसमा समस्या परेकालाई सहयोग गर्नुपर्ने गरे कोभिड–१९ लाई सजिलै परास्त गर्नसक्ने बताउनुभयो । दिनमा सातदेखि आठ घण्टा सुत्न सक्यो भने हाम्रो शरिर एक किसिमको रासायनिक उत्पादन गर्ने र त्यसले रोगसँग लड्ने क्षमता बढाउन सक्ने उहाँको भनाइ रहेको थियो । अहिलेको कोरोनाका बेलामा भिटासिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गनुपर्ने सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्