जातीय विभेदका कारण मृत्युवरण गरेका नवराजलाई समाज सुधार अभियान पुरस्कार
उपल्लो जातकी युवतीसंगको प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा मृत्युवरण गर्न पुगेका जाजरकोटका नवराज विकलाई सरकारले समाजसुधार अभियान पुस्कार दिनेभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनामा नवराजलाई २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत एक लाख रुपैयाँ राशि भएको समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरेको हो ।
समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।
यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामासमेत पुरस्कृत हुनेको नाम टुंगो लगाएको छ । मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रिय स्तरका पुरस्कार प्रदान गर्दै आएको छ ।
आफ्नी प्रेमीका लिन साथीहरुसंग रुकुम पश्चिम गएका नवराजसहित अन्य ५ जनालाई स्थानीयले कुटपिट गरी मारेका थिए । यस विषयमा तीन दर्जनजनामाथि मुद्दा चलेको छ ।
प्रतिक्रिया राख्नुहोस्