जन सरोकार

यस्तो नि गर्न पाइन्छ : एसईईको नतिजा नआउँदै भित्रभित्रै कक्षा ११ को भर्ना

यस वर्षको एसईई परीक्षा कोरोना भाइरस महामारीका कारण स्थगित भएपछि विद्यालयहरुको आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशनको अन्तिम तयारी भैरहेको छ । विद्यालय तथा कलेजहरु बन्द रहे पनि अधिकांश कलेजहरुले एसईईको नतिजा नआउँदै ११ को भर्ना लिन थालेका छन् ।

सरकारले यस वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन लागू गर्ने तयारी छ र नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।

शिक्षा मन्त्रालयले हिसानसहित प्याब्सन, एनप्याब्सनलगायत निजी शिक्षण संस्थाका छाता संगठनलाई नयाँ भर्ना नलिन, शुल्क नउठाउन सूचना पठाइएको भए पनि उनहरुले अटेर गरिरहेका छन् ।

शिक्षा मन्त्रालयले भने विद्यार्थी भर्नामा रोक लगाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० का पदाधिकारीहरु सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् । ठूला र नाम चलेका निजी विद्यालयहरुले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् ।

शिक्षा मन्त्रालयका एक उच्च अधिकारी निजी विद्यालय सञ्चालकहरु नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यअनुरूप यसअघिकै संकायअनुसारको भर्नामा जुटेको बताउनुहुन्छ ।

उपत्यकाका कतिपय नाम चलेका र ठूला भनिएका कलेजहरुले सामाजिक संजालमार्फत भर्ना आव्हान गरिरहेका छन् । उनीहरु नयाँ पाठ्यक्रमलाई लागू हुन नदिने योजनामा छन् । पाठयक्रम विकास तथा मूल्यांकन परिषद्ले संकाय प्रणालीको अन्त्य गर्दै कक्षा ११ मा ६ विषयको पठनपाठन गराउने निर्णय गरिसकेको छ ।

कान्तिपुर दैनिकको समाचार अनुसार हिसान अध्यक्ष रमेश सिलवाल प्रमुख रहेको गोल्डेन गेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अनलाइन रजिस्ट्रेसन खुला गरेको छ । उपाध्यक्ष युवराज शर्माको हिमालयन ह्वाइटहाउस कलेजले पनि प्रि–रजिस्ट्रेसन आह्वान गरेको छ । विज्ञान, मानविकी, व्यवस्थापनसहित कानुन संकायमा भर्नाका लागि विद्यार्थीलाई सम्पर्कमा आउन भनिएको छ ।

महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि यिनै संकायका लागि विद्यार्थी भर्ना खोलेको छ । काठमाडौंका अन्य दर्जनौं विद्यालयले पनि भर्ना आह्वान गरेका छन् । सेन्ट जेभियर, रातो बंगालालगायत विद्यालयले ए–लेभलको पठनपाठनका लागि अनलाइन रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाएका छन् ।

चैत पहिलो सातादेखि ठप्प विद्यालय र क्याम्पस कहिलेदेखि खुल्ने अनिश्चित छ । तर विद्यालयहरुले भने अघिल्लो तहको परीक्षाफल नआउँदै नयाँ भर्नाका गतिविधि थालेका हुन् । एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ । साउनको दोस्रो सातापछि मात्र नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हिसानका उपाध्यक्ष शर्माले कक्षा ११ को तयारी गर्ने विद्यार्थीका लागि पूर्वतयारी स्वरूप प्रि–रजिस्ट्रेसन गराइएको प्रतिक्रिया दिए । धेरै विद्यार्थी काठमाडौं बाहिर छन् । लकडाउन कायमै रहे नतिजा प्रकाशित भएपछि पनि ती विद्यार्थी काठमाडौं नआउने निजी विद्यालय सञ्चालकहरुको विश्लेषण छ । विद्यार्थी तान्न र कोटा पूरा गर्न प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरिएको हिसानका एक पदाधिकारीले बताए । ‘विद्यार्थी नभए स्कुल बन्द हुन्छन्, आफूले पढाउने विद्यार्थीको सिट सुरक्षित गर्न अहिलेदेखि हानथाप भएको हो,’ उनले भने । हिसानले यसपटक देखि नयाँ पाठ्यक्रम लागू नगर्नसमेत सरकारसँग लबिइङ गर्दै आएको छ । उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पाठ्यक्रम कार्यान्वयन नगर्न सुझावपत्रसमेत दिएका छन् ।

अहिले संकाय प्रणालीअनुसार कक्षा ११ र १२ मा पाँचवटा विषय मात्र पठनपाठन हुन्छ । नयाँ पाठ्यक्रममा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य मानिएको छ । विद्यार्थीले तीन ऐच्छिक र तीन अनिवार्य विषय पढ्नुपर्ने हुन्छ । कोभिड–१९ को संक्रमणको बेला नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजानु फलदायी नहुने शर्माको तर्क छ । ‘पुरानै पाठ्यक्रमका आधारमा यसपालि पठनपाठन गरौं भनेर सुझाव दिएका छौं,’ शर्माले भने, ‘सरकारले निर्णय भइसकेको छ भनेर कार्यान्वयन नै गर्ने दिशामा अघि बढेको छ, यसबाट परिणाम राम्रो आउँदैन ।’

पाठ्यक्रम विकास केन्द्रका निर्देशक केशवप्रसाद दाहालले नयाँ पाठ्यक्रम लागू गर्न समय तालिकासमेत स्वीकृत भइसकेको जनाए । केन्द्रले अनिवार्य विषयका पाठ्यपुस्तक छपाइको कामसमेत सकिसकेको छ । ऐच्छिक विषयका पुस्तक लेख्न निजी पब्लिकेसनहरुलाई जिम्मा दिइएको छ । असार मसान्तसम्म पब्लिकेसन र लेखकहरुले किताब तयार पारेपछि स्वीकृत गरेर कार्यान्वयनमा जाने केन्द्रको तयारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.