झापास्थित नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप
सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीमाथि भारतीयबाट आक्रमणका घटना बढ्दै गएका छन् । यसै क्रममा झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती गाउँबाट घरेलु हतियारसहित आएका भारतीय आक्रमण गरेका छन् ।
समाचार अनुसार जिल्लाको गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडन्त भएको हो ।
भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।
समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको बताइएको छ । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते छन् । घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्