जल/वातावरण

तराईबाट पहाड उक्लिएको कोरोना : कर्णाली र सुदूरपश्चिममा दोस्रो लहरको खतरा

पछिल्लो केही समय कोरोना संक्रमण समुदायस्तरमा पुगेको विज्ञहरुले बताइरहँदा प्रधानमन्त्री केपी ओलीले पनि अप्रत्यक्ष रुपमा त्यसलाई स्वीकार गर्नुभएको छ र तराईमा भारतबाट फर्किएकाहरुमा मात्र देखिएको कोरोना अब पहाडका अस्पतालहरुमा समेत पुगेको छ ।

यसै क्रममा अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र तीन बिरामी गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार जम्मा ३७ जनामा संक्रमण देखिएकोमा १९ जना बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् ।

त्यस्तै चारजना बयलपाटा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारी हुन । अन्य संक्रमितमा पञ्चदेवल बिनायक नगरपालिका नौ र बान्नीगढी जयगढ गाउँपालिकाका दुई जना रहेका छन् ।

स्वास्थ्यकर्मीहरुमा प्रयोशालामा काम गर्ने प्राविधिकहरु रहेका छन् । बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको ढुगानाले बताउनुभएको छ ।

यसै गरी शुक्रबार कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मात्रै जुम्लाका ५२ जनासहित ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना रहेका छन् । संक्रमितहरु गाउँपालिकाको वडानम्बर १, ३, ४, ५, ६ र ७ का हुन् । जुम्लाकै चन्दनाथका ३ र कनकासुनदरीका एकजनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । जुम्लामा यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

यता सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एक एकजना गरी तीनजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै,रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ । हालसम्म १९४५ जना भने डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । २७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.