"राजाको शासनकालमा ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार जस्तै भयो"
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको भन्दै दावी गर्दै अहिले भैरहेका प्रचार आफूलाई बदनाम गर्न मात्र भैरहेको बताउनुभएको छ ।
बुधबार एक विज्ञप्ति जार गरी उहाँले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ भनी कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरङ्कुश शाहीशासनका तिनै मतियारसमेतले नयाँ ढङ्गले आफ्नाविरूद्ध स्वर उरालिरहेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा उहाँले आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लङ्घन नगरेको जनाउनुभएको छ ।
‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु ।’ उहाँले भन्नुभएको छ, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’
प्रतिक्रिया राख्नुहोस्