कर्पोरेट/पर्यटनजल/वातावरण

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उहाँले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राख्नुभएको छ ।

रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकिन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ ।”

खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उहाँको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।” भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उहाँको धारणा छ । मास्कको प्रयोग गरेर र अरू व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उहाँले सबैलाई सजग गराउनुभएको छ । कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उहाँले स्वास्थ्यकर्मीलाई दोष लगाउन नहुने बताउनुभयो । उहाँका अनुसार आफू जोखिममा रहेर पनि नियमित रूपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्न खाँचो छ ।

विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपङ्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उहाँको भनाइ छ । सबै व्यक्तिको कल्याण स्वास्थ्यकर्मीमा निर्भर रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड र त्यसबाहेकका अरू रोगको उपचारका लागि स्वास्थ्यकर्मी नै चाहिन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.