देशभर संक्रमितको संख्या ५० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै १० हजार बढी
मुलुकको संघय राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहेका बेला दैनिक गुजारादेखि आथिक गतिविधिमा समेत ठूलो असर परिरहेको छ । देशकै राजधानी र अर्थतन्त्रको केन्द्र भएकाले यहाँ बिहिबारदेखि नै निषेधाज्ञा निकै खुला गरी जनजीवन सहज बनाउने प्रयास भएको छ, तर संक्रमणको जोखिम भने उच्च नै छ ।
नेपालमा बिहिबार साँझसमम कोरोना संक्रमितको संख्या ५० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै १० हजारभन्दा बढी संक्रमित भएका छन् र संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् । यस्तै अहिलेसम्म मृत्यु भएकाहरुमा काठमाडौंमा ४५, भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६२ जना रहेका छन् ।
बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । बाक्लो जनघनत्व रहेको काठमाडौं उपत्यकामा पछिल्लो समय करिब १५ प्रतिशतमा संक्रमणसँगै अन्य दीर्घ रोगसमेत पाइएको छ । बिहीबार मात्रै काठमाडौं उपत्यकामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी ६ सय ३० जनामा संक्रमण देखिएको छ ।
उपत्यकामा तीन सातायता निषेधाज्ञा जारी रहँदा पनि संक्रमितको संख्यामा कमी नदेखिएपछि यसलाई खुकुलो गर्ने निर्णय गरिएको छ । निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौंको जनजीवन सामान्य अवस्थामा फर्केका देखिए पनि जोखिम भने अरु बढेको छ । कोरोना संक्रमण रोक्न निषेधाज्ञा बाहेक अरु कुनै उपाय नअपनाइँदा आम जनजीवन अति प्रभावित भएपछि सरकारको व्यापक आलोचना भैरहेको थियो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ र काठमाडौंमामा मात्रै ८ हजार १ सय ८ जना संक्रमित रहेका छन् । त्यस्तै ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्