जल/वातावरण

सिराहामा ५ सय कैदीबन्दीमा सङ्क्रमण, काभ्रेमा एकैदिन ७९ जना सङ्क्रमित

सिराहामा एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् र तीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ ।

यसैबीच संक्रमणका कारण समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गर्नुभयो । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।

एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । सङ्क्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।

“कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छैन”, कारागार प्रमुख महतोले भन्नुभयो, “सङ्क्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि सङ्क्रमित हुने जोखिम बढेको छ ।” सङ्क्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उहाँको कथन छ ।

एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी सङ्क्रमण देखिएपछि सङ्क्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।

उता काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना सङ्क्रमण देखिएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो । नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गर्दछ ।

नेपाली सेनाले आफ्नै व्यवस्थापनमार्फत पाँचखालको सङ्क्रमण रोक्ने प्रयास भइरहेको जनाइएको छ । यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।

जिल्लामा हालसम्म ५४१ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन् । १९५ सक्रिय सङ्क्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.