अर्थ

कालोबजारी गर्नेबाट जफ्त गरिएको प्याज सरकारले प्रतिकेजी ६० रुपैयाँमा विक्री गर्ने

केही दिनयता बजारमा प्याजको कत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेहरुबाट जफत गरिएको प्याज सरकारले सरल मूल्यमा विक्री गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायी सहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको भए पनि तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै बिक्री गर्न लागिएको बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारबाट बिक्री वितरणको काम शुरु हुने बताउनुभयो ।

प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत बताउनुभयो । बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो ।

त्यस क्रममा कलोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल सील गरिएको थियो । सोही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.