१२ वर्षीया सम्झनाको बलात्कारपछि त्रिशुलले रोपेर हत्या गरेको आरोपीको बयान
गत साता बझाङको मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको हत्याको आरोपमा पक्राउ परेका अभियुक्त राजेन्द्र बोहराले बालिकाको बलात्कारपछि त्रिशूलले रोपेर हत्या स्वीकार गरेका छन् । बोहराले आफूले बलात्कारपछि ढुंगाले हानेरको र त्रिशुलले घोपेर हत्या गरेको स्वीकारेका हुन् ।
गत बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर नर्फिर्कएपछि खोजी गर्दा राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । बुधबार साँझ करिब ४ बजेदेखि ५ बजेको बिचमा बालिकामाथि बलात्कार भएको र घटना बाहिर आउने डरले हत्या गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहका अनुसार बोहराले ढुंगाले हानेर र त्रिशूल रोपेर बालिकाको हत्या गरेको स्वीकारेका छन् । हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर मिलापत्र गरिएको थियो । बोहराले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्