"राजनीतिक दलहरुले कार्यकर्तालाई भिडभाड गर्न रोके महामारी रोक्न मद्दत मिल्थ्यो"
कास्की क्षेत्र नं. २ का सांसद सांसद विद्या भट्टराईले कोरोना महामारी रोक्न भीडभाड कम गर्नुपर्ने भए पनि अहिले राजनीतिक दलहरुले कार्यकर्ताहरुले नै बढी भिडभाडा गरिरहेको बताउनुभएको छ । उहाँले महामारी नियन्त्रणका लागि दलहरुले आफ्ना कार्यकर्तालाई त्यस्तो कार्य गर्न रोक्नुपर्ने माग पनि गर्नुभएको छ ।
सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सो समितिले गठन गरेको उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव बैठकमा उहाँले भन्नुभयो ‘कोरोना महामारीका बीचमा राजनीतिक गतिविधि भएका छन्, भिडभाड भएका छन् । दलहरुले आफ्ना कार्यकर्तालाई भिडभाड नगर्न निर्देशन दिने हो भने पनि कोरोनाको महामारी रोकथाममा योगदान गर्ने थियो’ ।
सोही बैठकमा दशैंका बेला उपत्यका प्रवेशमा रोक लगाउनुपर्ने सुझाव सरकारलाई दिइएको छ । दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई सुझाव दिएको हो । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस (कोभिड–१९) को महामारी थप भयावह हुने चेतावनी दिएको हो ।
बैठकमा संयोजक जीवनराम श्रेष्ठले उपत्यका हटस्पट भएर देखा परेकाले यसलाई नियन्त्रण गर्न अब उपत्यकाको संक्रमित बाहिर नजाउन् भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । उपत्यकाबाट जाने कुराले बाहिर जिल्लामा समेत भयावह हुने अवस्था रहेका कारण दशैं– तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्ने हाम्रो सुझाव रहेको बताउनुभयो ।
उपसमितिले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा पुगेर कोरोना महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन तयार पारेको छ ।
बैठकमा सांसद उमेश श्रेष्ठले सरकारले कोरोना महामारीको व्यवस्थापन सही ढंगले गर्न नसकेको टिप्पणी गर्नुभयो । आफैँ कोराना संक्रमित भएर निको भइसकेका सांसल श्रेष्ठले भन्नुभयो, ‘काठमाडौंको व्यवस्थापन असाध्धै सुधार गर्नुपर्छ । मैले देखेको व्यवस्थापन चुस्त दुरुस्त बनाउन आवश्यक छ । कोभिड ठूलो समस्या भएका कारण यसमा ध्यान दिन पर्यो ।’
सांसद श्रेष्ठले दसैँं तिहारको १०–१५ दिन काठमाडौं ठप्पै पार्ने प्रस्ताव पनि गर्नुभएको छ । ‘दसैँ तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लेला जस्तो लाग्छ’ ।
समिति सभापति जयपुरी घर्तीले सरकारको काम कारबाहीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै नागरिकले पनि सावधानी अपनाएर कोराना फैलिन नदिन ख्याल गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्