पर्यटकीय गन्तब्य झाँक्रीपानीमा पूर्वाधार निर्माण भएपछि पर्यटक आकर्षित
समुद्री सतहदेखि दुईहजार पाँच सय ७० मिटर उचाइमा अवस्थित म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानी आन्तरिक ततथा बाह्य पर्यटकका लागि पूर्वाधार निर्माण भएको छ । यहाँबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े रेञ्जका १६ भन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
झाँक्रीपानीबाट सूर्याेदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जीवनशैली थप आकर्षण रहेको छ ।
पर्यटकीय आकर्षणको केन्द्र रहेको सो स्थानलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।
पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खाने–बस्ने सुविधाका लागि घरबास (होमस्टे) सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु. दश लाख र गाउँपालिकाले रु. एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताउनुभयो । होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।
पर्यटकका लागि झाँक्रीपानीमा दृष्यावलोकनस्थल (भ्यु टावर) निर्माण भएको छ । गाउँपालिकाको रु. २५ लाख अनुदान र रु. ७ लाख बराबरको श्रमदानमा टावर बनाइएको हो । तीनतले भ्यु टावर १४ मिटर अग्लो भएको गाउँपालिकाका प्राविधिक विपीन आचार्यले बताउनुभयो ।
टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले एक रोपनी नौ आना जग्गा उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाले रु. २८ लाख खर्च गरिसकेको सामुदायिक भवनलाई रङ्गरोगन र फर्निचर व्यवस्थापनका लागि चालू आवमा थप रु. तीन लाख पचास हजार विनियोजन गरेको छ । सो भवनमा पाहुनालाई राखेर स्वागत र स्थानीय संस्कृति देखाउन प्रयोग गरिनेछ ।
पालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाले बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने सडक स्तरोन्नति र पुलचोक–नेटा हुँदै पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको बताउनुभयो । स्थानीयवासी सोम छन्त्यालले सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुविधासँगै झाँक्रीपानीमा पर्यटक यहाँ आकर्षित भएको बताउनुभयो ।
बेनी नगरपालिका–४ राक्सेकी हीरा शर्माले झाँक्रीपानीको प्राकृतिक सौन्दर्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । बेनीदेखि गाडीमा एक घण्टा ३० मिनेट, तातोपानी र बाबियाचौरदेखि तीन घण्टा पैदल यात्रा गरेर झाँक्रीपानी पुगिन्छ ।
परापूर्वकालमा झाँक्रीले तिर्खा लागेर आफूले टेकेको लट्ठी गाड्दा पानीको मूल फुटेकाले झाँक्रीपानी नाम रहन गएको स्थानीयवासी दर्पण रोकाले बताउनुभयो । झाँक्रीपानीमा २०६७ मा महोत्सव आयोजना गरेका बरंजाबासीले म्युजिक भिडियो समेत तयार पारेका छन् ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले झाँक्रीपानीमा बाह्यपर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार रत्नेचौर–भकुण्डे–बेलढुङ्गा–गम्फाको धुरी–झाँक्रीपानी–निस्कोट बराह–दुर लेक–सोलेडाडा–देवीस्थान हुदै ताकमकोत जोड्ने पर्यटन पदमार्गको परिकल्पनासमेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्