नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्ने दृढता जनाउनुभएको छ । मंगलबार स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को लोकार्पण गर्दै उहाँले सो दृढता व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गर्नुभयो ।
“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।”
वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर० का अध्यक्षसमेत हुनुहुन्छ । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रच्नुभएका लोकभाकासहितका छ गीत एल्बममा सङ्कलन गरिएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् डाविजय सुब्बा र प्रा केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुनुहुन्छ । सङ्गीत संयोजन अशोक लोहरुङ राई गर्नुभएको छ भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिनुभएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीसँग अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री निवासमा भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्