कांग्रेसलाई कमल थापाको सुझाव- अपवित्र गठबन्धनमा सामेल नभएर मध्यावधिमा जानुपर्छ
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि निर्णायक शक्तिका रुपमा खडा भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जाने, सरकार बनाउने अपवित्र खेलमा लाग्नुको साटो मध्यावधि निर्वाचनको पक्षमा जानुपर्ने सुझाव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दिनुभएको छ ।
शुक्रबार रुपन्देहीको भैरहवामा राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब शुरु हुने संसद अधिवेशनले नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औंल्याउँदै अबको निर्णायक शक्ति कांग्रेस बनेको र बल कांग्रेसको कोर्टमा आएको बताउनुभयो ।
अध्यक्ष थापाले सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेर संसद पुनस्र्थापना गरिदिए पनि अब ७६ (७) अनुसार विघटन हुने र ताजा जनादेशको विकल्पमा जानुपर्ने उनको तर्क छ ।
अध्यक्ष थापाले भन्नुभयो ‘अहिले मुलुकसामु दुईवटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता निम्ताउने र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने । कांग्रेसले दोस्रो विकल्पलाई रोज्नुपर्छ ।’
सर्वोच्चको फैसलापछि मुलुकमा अस्थिरता निम्तिने संकेत देखिएको भन्दै उहाँले कांग्रेसले फेरि पनि अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य लामो समयसम्म चुकाउनुपर्ने तर्क गर्नुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य कदम भएको बताउँदै हतियार तत्काल बुझाउनुपर्ने बताउनुभयो ।
त्यस्तै पत्रकारको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै त्यसबारे पार्टीले निर्णय लिने अध्यक्ष थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्