जल/वातावरण

तुवाँलो अझै कायम रहन सक्छ, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अपील

विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो ।

तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । “मंगलबार अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ ।” उहाँले भन्नुभयो । यसले हावाको वेग बढ्नुका साथै फाफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक,दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उहाँले बताउनुभयो ।

प्रदूषणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भुमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, बैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य बैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।”

प्रतिकूल मौसमका कारण तीन दिनदेखि काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फका उडान प्रभावित भएका छन् । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट दर्जनाँै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.