खुला सीमाको दुरुपयोग- नेपाल हुँदै तेस्रो मुलुक जाँदै भारतीय नागरिकहरु
भारतमा कोरोना महामारी फैलिएपछि त्यहाँबाट तेस्रो मुलुक जान गाह्रो हुने भएपछि नेपालको बाटो हुँदै अन्य मुलुक जान चाहने भारतीयहरुको काठमाडौंस्थित भारतीय दूताबासमा दैनिक निकै भीड हुने गरेको छ । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको हो ।
दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेपछि भीड बढेको छ । उनीहरु एनओसी लिएर नेपालबाट हवाई मार्ग हुँदै तेस्रोा मुलुक जाने गरेका छन् ।
भारतीय दूतावासका प्रवक्ता नवीन कुमारका अनुसार एडभाइजरी वेबसाइटमा हालेपछि धेरै मान्छे नबोलाइकनै आइरहेको र एडभाइजरीको पालना नभएको बताउँदै एक दिनमा ५० जना आउनुपर्नेमा तीनदेखि चार सयसम्म आइरहेको जानकारी दिनुभयो । प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरू भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने र ‘नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन् भन्नुभयो ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको जानकार बताउँछन् । खुला सिमाना भएका कारण पनि उनीहरूलाई नेपाल आउन सहज भएको हो । कर्णाली प्रदेशबाहेक बाँकी ६ प्रदेशसँग नेपालको सीमा जोडिन्छ ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले नेपाल–भारत सीमा नाका खुला भएका कारण आउजाउ बढिरहेको बताउँदै क्रसबोर्डर अकुपेसनका कारण पनि ओहोरदोहोर दैनिक रूपमै भइरहेको र तोकिएका नाकाबाट हुने औपचारिक आवागमनलाई व्यवस्थित गर्न खटिएको जानकारी दिनुभयो ।
उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आँकलन गरेको छ । तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । ‘त्यसपछि नेपालको बाटो हुँदै अन्य मुलुकमा उड्ने भारतीयको संख्या बढेको देख्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्