"लकडाउनको हैन, जनतालाई सुरक्षित राख्ने सरकारले योजना ल्याउँदैछ"
नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको डरलाग्दो तथ्यांक बाहिरिइरहेको र नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको विज्ञहरुको चेतावनीका बीच सरकारले जनतालाई सुरक्षित राख्न छिट्टै नयाँ कार्ययोजना ल्याउने भएको छ ।
शुक्रबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा संचार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्ययोजना छिट्टै सार्वजनिक गरिने बताउनुभएको हो ।
नेपालमा फेरि सरकारले लकडाउन गर्ने चर्चा चलेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले कोभिडबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको बताउनुभयो । उहाँले कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने योजना चाँडै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहितालगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउछौं ।’
पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएका छन् ।
त्यस्तै सरकारले राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । वन तथा वातारण मन्त्रालयको प्रस्तावमा राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्ष पदमा पर्वतका डा. पौडेललाई नियुक्ति गरिएको जानकारी दिनुभयो ।
यसैगरी दोलखामा कमला वली (सिवाकोटी), महोत्तरीका शशीकुमार शर्मा, काठमाडौंका सुमित ढकाल र कपिलवस्तुका भेषराज आर्चायलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्