आइतबारदेखि वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा संचालन हुने
वीरको ५०० श्ययाको नयाँ सर्जिकल भवनमा कोभिड अस्पताल, ५०० आइसियु र एचडियु थप्ने योजना
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । सङ्क्रमणको दोस्रो लहर आएपछि सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याइन थालिएको हो ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले आगामी आइतबारदेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सघन उपचार कक्ष (आइसियु) हाई डिपेन्डेन्सी युनिट (एचडियु) को क्षमता बढाएर र अक्सिजन जडान गरेर अस्पताल सञ्चालन गरिने बताउनुभयो । “अस्पताल सञ्चालनका लागि हामी अहिले पूर्वाधार जोड्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “सङ्क्रमित बिरामीले सबै उपचार पाउने गरी अस्पताल सञ्चालन हुने छ ।”
वीरको ५०० श्ययाको नयाँ सर्जिकल भवनमा नै उक्त अस्पताल सञ्चालन हुनेछ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा गौतमका अनुसार शुरुमा सय बिरामीका लागि आइसियु र एचडियु तथा अक्सिजन जडान हुनेछ । अस्पतालमा ५०० आइसियु र एचडियु थप्ने योजना उहाँले जानकारी दिनुभयो ।
अहिले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ३५ आइसियु तथा एचडियु रहेका छन् । यही जेठ ६ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन ल्याउने निर्णय गरेको थियो । अस्पताल सञ्चालनका लागि यही जेठ १० गते मन्त्रालयका प्रवक्ता डा गौतम अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको थियो ।
युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेशन, एचडियु र आइसियुको व्यवस्थापन गर्ने, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन गर्नेछ ।
अस्पतालले श्यया खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्नेछ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने छ ।
यस्तै अस्पतालले सङ्क्रमितको दैनिक तथ्याङ्कका आधारमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आङ्कलन गरी स्वास्थ्य सङ्ख्यालाई तयारी अवस्थामा राख्न लगाउने, श्यया खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय र आवश्यकताअनुसार निर्देशन दिने सक्नेछ ।
यस्तै अस्पतालले आवश्यकता ठानेमा जुनसुकै स्वास्थ्य सङ्ख्यालाई कोभिड– १९ अस्पतालका रूपमा सञ्चालन गर्न आदेश दिने, मन्त्रालयसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार, औषधि, स्वास्थ्य सामग्री, उपकरण र अन्य आवश्यक सामग्री तथा जनशक्तिको व्यवस्थापन र परिचालन गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि आवश्यक पर्ने उपचारसम्बन्धी मापदण्ड जारी अस्पतालले गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्